निगमले नेपाली श्रमिकलाई उडान भाडामा १० प्रतिशत छुट दिने

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय उडान भाडामा १० प्रतिशत छुट दिने भएको छ । निगमले काठमाडौंबाट रोजगारीका लागि साउदी, कतार, युएई र मलेसिया जाने नेपाली श्रमिकका लागि उडान भाडामा सहुलियत दिने भएको हो । 

नेपालबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको निमगले एक सूचनामार्फत जनाएको छ । नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरिएको निगमले जनाएको छ । श्रमिक यात्रुको सर्वसुलभताका लागि यस्ता निर्णय गरिएको निगमको भनाइ छ । 

‘यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्नुहुनेछ,’ निगमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, ‘यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।’

निगमले आफ्नो फेसबुकमार्फत समेत उक्त सूचना सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा राखिएको उक्त सूचनामा धेरैजसोले राम्रो कदम भनेर सकारात्मक कमेन्ट गरेका छन् । तर, कतिपयले भने सुरुवाती भाडा नै महँगो राखेर छुटको घोषणा गरिने गरेको गुनासो गरेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार चार सय ५९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ७७ हजार दुई सय ५७ रहेको छ । श्रमका लागि वैदेशिक रोजगारीमा जानेमध्ये अधिकतम नेपालको गन्तव्य कतार, साउदी, युएई र मलेसिया हुने गरेको छ । 

See More On

सुझावित समाचार