- सर्वाधिक कर तिर्ने संस्थाका रूपमा पुरस्कृत नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष ०८०/८१ मा ५ अर्ब ९६ करोड दाखिला गरेको छ
राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले गत १ मंसिरमा धेरै कर दाखिला गर्ने १६ संंस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । त्यसमध्ये आठ संस्था ठुला करदाता रहेका छन् ।
अर्थ मन्त्रालयमातहतको ठुलो करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार सबैभन्दा बढी दूरसञ्चार प्राधिकरणले पाँच अर्ब ९६ करोड ६ लाख ६१ हजार दुई सय ९२ रुपैयाँ कर दाखिला गरेको छ । संस्थागततर्फ सबैभन्दा बढी कर दाखिला गरेका आधारमा प्राधिकरणलाई सम्मानित गरेको विभागले जनाएको छ । त्यस्तै, दोस्रो धेरै कर दाखिला गर्नेको सूचीमा रहेको इन्भेष्टमेन्ट मेगा बंैकले तीन अर्ब २७ करोड ७२ लाख २७ हजार दुई सय ६९ रुपैयाँ दाखिला गरेको कार्यालयले जनाएको छ । बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्येबाट इन्भेष्टमेन्ट बैंक उत्कृष्ट करदाता घोषित भएको हो ।
खाद्यान्न, लत्ताकपडासहित ग्रोसरीको कारोबार गर्ने भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले ५८ करोड ८७ लाख ५१ हजार चार सय सात रुपैयाँ कर दाखिला गरेको ठुला करदाता कार्यालयले जनाएको छ । भाटभटेनीले वस्तु व्यापारतर्फबाट सबैभन्दा बढी कर दाखिला गरेर सम्मानित भएको हो । युनिलिभर नेपालले ४३ करोड ७६ लाख ७७ हजार सात सय ४५ र डाबर नेपालले ३५ करोड ९६ लाख दुई हजार पाँच सय २२ रुपैयाँ कर दाखिला गरेका छन् । युनिलिभर विशेष उद्योगतर्फ र डाबर नेपाल वस्तु निर्याततर्फ सम्मानित भएका हुन् ।
ऊर्जामूलक उद्योगतर्फ सम्मानित भएको भोटेकोशी पावर कम्पनीले २९ करोड १६ लाख पाँच हजार एक सय ३५, पर्यटन व्यवसायतर्फ सम्मानित भएको सोल्टी होटेलले १४ करोड ९६ लाख ९० हजार नौ सय १२ र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट सम्मानित भएको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले १४ करोड ९६ लाख ९० हजार नौ सय १२ रुपैयाँ कर दालिखा गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, थर्डआई इन्टरनेसनल, भेरिक्स नेपाल, पोसक ब्रिडर फार्म, सिडिएस एन्ड क्लियरिङ, आइएमई, नेपाल टेलिकम, भिएफ सर्भिसेज र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका थिए । कर प्रशासन र करदाताबिच पारदर्शी सहकार्य, नीति संवाद र दिगो साझेदारीलाई बल पुग्ने गरी बर्सेनि धेरै कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्दै आएको विभागले जनाएको छ ।
फरक–फरक संस्थामार्फत २५.५९ अर्ब कर बुझाएको चौधरी ग्रुपको दाबी
चौधरी ग्रुपले आर्थिक वर्ष ०८१/८२ मा २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको दाबी गरेको छ । ग्रुपले आव ०८०/८१ मा भने १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको जनाएको छ ।
गत १ मंसिरमा आयोजित राष्ट्रिय कर दिवसमा चौधरी समूह उत्कृष्ट करदातामा नपरेको भन्दै सर्वसाधारणले गरेको आलोचनापछि विज्ञप्तिमार्फत सरकारलाई बुझाएको कर विवरण सार्वजनिक गरेको हो । व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने प्रणाली नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने गरेको भन्दै चौधरी ग्रुपले प्रस्टीकरण पनि दिएको छ ।
‘आर्थिक वर्ष ०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले गत आवमा सात अर्बभन्दा बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ, जसले चौधरी ग्रुपको लगानी वृद्धि तीव्र गतिमा रहेको प्रस्ट पार्छ,’ विज्ञप्तिमार्फत ग्रुपले भनेको छ । पछिल्लो पाँच वर्षमा सरकारलाई कुल ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको पनि जनाएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजस्वमा योगदान बढाउँदै लगेको बताए । ‘चुनौतीबिच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ,’ उनले भने ।