जेन–जी आन्दोलनमा हिंसा : ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

प्रहरीको हत्या र प्रहरीका संरचनामाथि भएका आगजनी र हतियार लुटपाटका घटनामाथि मात्रै अहिलेसम्म अनुसन्धान, आन्दोलनकारीहरूमाथि गोली बर्साउन आदेश दिने र निजी÷सार्वजनिक सम्पत्तिमाथि भएका विध्वंसको भएन छानबिन

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड, लुटपाट र हत्यामा संलग्न रहेको आरोपमा हालसम्म देशभरबाट ४२९ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध १६८ मुद्दा दर्ता भएका छन् । ९८ मुद्दा आपराधिक उपद्रवसँग सम्बन्धित छन् । जुन कुल मुद्दाको ५८.३३ प्रतिशत हो । बाँकी ७० मुद्दा अर्थात् ४२.६६ प्रतिशत भने कर्तव्य ज्यान, चोरी, हातहतियार तथा खरखजाना, लागुऔषध, अभद्र व्यवहारलगायतका कसुरसँग सम्बन्धित छन् । 

प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले हालसम्म ४२९ जना पक्राउ परेको र उनीहरूमध्ये अधिकांशविरुद्ध आपराधिक उपद्रव कसुरअन्तर्गत मुद्दा दर्ता भएर कारबाही चलिरहेको बताए । ‘२३ र २४ भदौको आन्दोलनसँग सम्बन्धित 
४२९ व्यक्ति पक्राउ परेका छन् । उनीहरूविरुद्ध १६८ मुद्दा दर्ता भएका छन् । 

त्यसमध्ये अधिकांश आपराधिक उपद्रव कसुरसँग सम्बन्धित छन्,’ उनले भने । २०१ जना काठमाडौंबाट पक्राउ परेका छन्, जुन मुलुकभरबाट कुल पक्राउको ४६.८५ प्रतिशत हो । उनीहरूविरुद्ध ७७ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमध्ये ८० प्रतिशतकोे पृष्ठभूमि आपराधिक देखिन्छ । जसमध्ये अधिकांश ठगी, लागुऔषध कसुर, चोरी, अभद्र व्यवहारलगायत मुद्दाका अभियुक्त छन् । पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् । 

‘२४ भदौको आन्दोलनका क्रममा भएको आगजनी, हत्या, लुटपाट, तोडफोडजस्ता घटनामा जोडिएका २०१ जना काठमाडौंबाट मात्रै पक्राउ परेका छन् । उनीहरू अधिकांशको पृष्ठभूमि आपराधिक देखिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने, ‘घटनाका सम्बन्धमा अनुसन्धान जारी छ, पक्राउ पर्ने क्रम पनि जारी छ ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २४ भदौयता आगजनी, लुटपाट, तोडफोड र हत्या अनुसन्धानका क्रममा काठमाडौंमा मात्रै प्रत्येक दिन कम्तीमा १५० जनामाथि सोधपुछ चल्छ । त्यसमध्ये ३ देखि ५ जना पक्राउ पर्छन् । उनीहरूमध्ये पनि ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिएको छ । 

२३ र २४ भदौमा भएका विध्वंसमध्ये हत्या, लुटपाट, आगजनी र तोडफोडलाई प्रहरीले अनुसन्धानको अग्र स्थानमा राखेको छ । अहिले प्रहरीको हत्या र प्रहरीका संरचनामाथि भएका आगजनी, तोडफोड र हतियार लुटपाटका घटनामाथि अनुसन्धान जारी छ । निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएका आगजनी, तोडफोड, लुटपाटमा भने प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तर, मुचुल्का विवरण र आवश्यक सूचना भने संकलन गरेर राखेको छ । 

लुटिएका/हराएकामध्ये ७१८ थान हतियार बरामद
आन्दोलनका क्रममा देशभरका प्रहरीबाट १५ सय थान हतियार लुटिएका÷हराएका थिए । त्यसमध्ये दुई सय हतियार जलेको अवस्थामा फेला परेका थिए । लुटिएकामध्ये सात सय १८ थान सुरक्षाकर्मीले नियन्त्रणमा ल्याइसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संसदीय समितिलाई जानकारी गराएका थिए । बाँकी हतियार पनि फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजीकार्यलाई तीव्र बनाइएको उनको भनाइ थियो । आसन्न प्रतिनिधिसभाको निर्वाचनअघि नै लुटिएका हतियार बरामद गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष अपरेसन सञ्चालन गर्न निर्देशन दिएको छ । 

त्यस्तै, मन्त्री अर्यालले आन्दोलनका क्रममा फरार १४ हजार ५५४ कैदीबन्दीमध्ये नौ हजार ५४१ फिर्ता ल्याइसकिएको र पाँच हजार १३ जना पक्राउ गर्न बाँकी रहेको तथ्यांक प्रस्तुत गरेका छन् । ‘सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलासलाई तीव्रता दिइएको छ । सुरक्षा निकायमार्फत फरार कैदीबन्दीको खोजीका लागि विशेष अपरेसन चलाउने कार्यलाई अघि बढाइएको छ,’ उनको भनाइ थियो ।

सुझावित समाचार