गीत गाएकै कारण पुलिस कस्टडीमा थुनिएँ

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

संगीत क्षेत्रमा गीत गाएकै कारण मैलेजस्तो यातना सायद अरूले भोग्नुपरेन होला

नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो, रोज मोक्तान । २०४८ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले दर्जनौँ गीतमा स्वर दिएका छन् । उनका ‘कलकत्ते काइयो’, ‘बाबरी फूलको बोट’, ‘रातो रातो गाला’, ‘हिउँ पर्यो फुरुरु’, ‘हेलम्बुको बजारमा’, ‘डम्फु त राम्रो,’ जस्ता गीतहरू चर्चित छन् । उनले एक दर्जनभन्दा बढी एल्बम निकालेका छन् । गायक मोक्तानले आफ्नो सांगीतिक यात्राको अनुभव पवन बराइलीलाई सुनाएका छन् :

रामेछापको भिरपानीमा जन्मिएँ । त्यहाँ तामाङ, नेवार, मगर, ब्राह्मण, दलितको मिश्रित समुदाय छ । बुबा सिंहदरबारमा जागिरे हुनुहुन्थ्यो । जसले गर्दा मैले पढ्ने मौका पाएँ । गीत गाउन मन लाग्थ्यो । गाउँमा बाँसुरी, डम्फु, मादल बजाउँथेँ, गीत गाउँथेँ । स्वर सबैले मन पराउँथे । मामा गीत गाउँनुहुन्थ्यो । म उहाँलाई पछ्याउँथेँ । गाउँलेको बाँस रित्याएर बाँसुरी बनाउँथेँ । त्यो बाँसुरी नै मेरो पहिलो संगीत विद्यालय बन्यो ।

बाँसुरी बजाउँदै डाँडापाखा चहार्थेँ । किताबसँगै बाँसुरी, मादल र डम्फु मेरा साथी बने । आठ कक्षादेखि काठमाडौं पढ्न आएँ । काठमाडौंमा सपना पच्छ्याउँदै संघर्ष गर्न थालेँ । पढाइसँगै संगीतलाई पनि अघि बढाउने सोचेँ । एसएलसीपछि संगीत पढ्न थालेँ । ०४८ सालमा रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ पास गरेँ । त्यसवेला रेडियो नेपालमा गीत गाउन पाउनु ठुलो कुरा थियो । 

              ०००                             ०००

रेडियो नेपालमा भ्वाइस पास गरेपछि मलाई तामाङ गीत गाउन आग्रह गरे । त्यसवेला तामाङ भाषाको एल्बम निकाल्ने चन्द्रकुमार मोक्तान हुनुहुन्थ्यो । उहाँका निकै राम्रा तामाङ गीतहरू हुन्थे । उहाँका एल्बम सबै हिट हुन्थे । मलाई पनि उहाँको जस्तो गीत गाउन मन लाग्यो । हामीलाई अनिल स्थापित दाइले तामाङ भाषाको गीत निकाल्न सुझाउनुहुन्थ्यो । त्यसवेला तामाङ सेलो निकै बिक्री हुन्थ्यो । चन्द्रकुमार दोङसँग मिलेर एल्बम निकाल्ने सल्लाह भयो । यही सिलसिलामा चन्द्रकुमार दोङ, इन्दिरा गोले, तुलसा वाइबा, जमुना योन्जन, कुन्साङ वाइबालगायतसँग भेट हुन्थ्यो ।

२०५३ सालको कुरा हो । हामीले तामाङ गीत निकाल्ने सल्लाह गर्यौँ । गीतको बोल थियो, ‘सिसाम् तामाङ सिदोबा, बामान कुर्सी टिदोबा’ अर्थात् ‘मर्ने वेला तामाङ मर्नुपर्ने, बाहुनसँगै कुर्सीमा बस्नुपर्ने’ भन्ने शब्द थियो । गीत रेकर्ड भयो । बजारमा आयो । त्यसवेला तामाङ भाषाको गीतलाई कसैले पत्याउँदैनथे । तामाङ गीतलाई मिडियाले समाचार नै बनाउँदैनथ्यो । हामी आफ्नै बलबुताले प्रचार गथ्र्यौँ । कतैबाट सहयोग मिल्दैनथ्यो । गीतको क्यासेटलाई स्वयम्भू र बौद्धको मेलामा बेच्ने सोच बनायौँ । त्यो जात्रामा तीन हजारप्रति क्यासेट बिक्री भयो । गीत गाउँगाउँमा पुग्यो । त्यसपछि बिस्तारै गाउँदेखि सहरसम्म चर्चा चल्न थाल्यो । २०५४ सालमा गीतविरुद्ध जाहेरी पर्यो । 

पुलिस कस्टडीमा १० दिन
२०५४ सालको कुरा हो । एक दिन घरअगाडि प्रहरीको भ्यान रोकियो । ‘तपाईंलाई एकछिन गौशाला प्रहरी बिटमा उपस्थित हुन भनिएको छ,’ प्रहरी अधिकारीले भने । किन बोलाको होला भन्ने लाग्यो । भ्यानमा राखेर लगे । चौकीमा पुग्नेबित्तिकै मलाई अपशब्द र दुव्र्यहार गर्न थालियो । त्यहाँ केहीबेर राखेर हनुमानढोका पुर्यायो ।

सामान्य केरकार गरेर छोड्छ भन्ने लागेको थियो । तर, हनुमानढोकाको अँध्यारो, चिसो काठोभित्र मलाई थुन्यो । त्यसपछि मलाई चरम यातना दिन थाल्यो । भात खुवाउँने अनि दिनभरी अँध्यारो कोठामा लगेर कुट्ने । ‘तँ देशद्रोही गीत गाउने ? साम्प्रदायिक गीत गाउँने ?’ भन्दै गाली गथ्र्याे र कुट्थ्यो । कुटाइ मात्रै होइन, अपशब्दले गाली गर्नुगथ्र्यो । ‘यस्तो गीत कसले गाउनु भन्यो ?’ भन भन्दै बुटले हान्थ्यो । तीन दिनसम्म कुटाइको दुखाइ खपेँ । त्यसपछि दुख्नै छोड्यो ।

गीतमा चन्द्रकुमार दोङको संगीत, मनोज घिसिङको शब्द थियो । एल्बममा मेरो नाम निर्माताको रूपमा थियो । मलाई कस्टडीमा थुनेर कुटेपछि अरू सबै भूमिगत भए । बुट, लाठी र अपशब्द, सबै एकैसाथ बज्रिन्थ्यो । मानवीय व्यवहार भएन । चिसो भुइँमा सुत्नुपथ्र्यो । त्यो अँध्यारो कोठामा कोचेर १२ जना राखेको थियो । भात खान पनि डर लाग्थ्यो । कसैले बोलायो भने फेरि कुट्ने हो कि भनेर डराउँथेँ । कुटाइले शरीर सुन्नियो, अनुहार सुन्नियो । अचेत पनि भएँ । घरपरिवारको कसैलाई भेट्न दिइएन । अब म जिउँदो फर्किन्न होलाजस्तो लाग्थ्यो । त्यसवेला कतिपयलाई त बेपत्ता बनाउँथ्यो, मलाई पनि बेपत्ता बनाउँछ होला भन्ने डर लागिरह्यो । 

१० दिनपछि डिएसपीको कोठामा बोलायो । डिएसपी तामाङ समुदायकै रहेछन् । उनलाई देख्नेबित्तिकै आँसु थामिएन । बेस्सरी रोएँ । ‘किन गाएको यस्तो गीत ?’ भनेर सोधेँ । एल्बमबाट त्यो गीत हटाउने सर्त राखियो । यस्तो गीत गाउँदिनँ भनेर कागज बनायो । त्यसवेला तामाङ समुदायको संघसंस्था अहिलेजस्तो थिएन । गीतले गर्दा मेरो जीवन सकियो भन्ने लाग्यो । तर, गीत गाउँदा पनि कुटाइ खाने कस्तो समाजमा जन्मिएछु भन्ने लाग्यो । त्यो गीतको क्यासेट गाउँगाउँमा पुगिसकेको थियो । मैले गीत हटाउन सक्ने अवस्था थिएन ।

मलाई त्यत्तिकै यातना दिइयो । तामाङ भएकै कारण मैले यातना भोग्नुपर्यो । गीत गाएकै कारण मैले जस्तो यातना सायद अरूले भोग्नुपरेन होला । त्यसवेला अरूले पनि क्रान्तिकारी गीत गाउँदै हिँडेका थिए । मैले जागरण ल्याउने गीत गाएको थिएँ । हामीमा राजनीतिक चेतना आउनुपर्छ, आफ्नो अधिकारका लागि लड्नुपर्छ भन्ने गीतको मूल भाव थियो । तर, त्यही गीतलाई देशद्रोही देख्यो ।

संगीतलाई केवल मनोरञ्जनको रूपमा मात्रै लिइनँ । मैले गीतलाई सत्य बोल्ने माध्यम बनाएँ । तामाङ समुदायको आवाज थियो त्यो । नेताको झोला बोक्ने, सदैव पिँधमा बस्ने तामाङको भावना, पीडा, संघर्ष थियो त्यो गीतमा । एउटा समुदायको मौन आवाज थियो । 

पीडापछि पुनर्जन्म
कस्टडीबाट रिहा भएपछि चुप लागेर बसिनँ । बरु अझै दृढ संकल्प गरेँ । मैले आफ्नै समुदायको गीत गाउँने सोच बनाएँ । तामाङ समुदायको गायक–गायिकासँग भेट भयो । कस्टडीको अँध्यारो कोठामा पनि मनमनै गीत गाइरहेँ, आफूलाई बल दिइरहेँ । घरपरिवारले ‘अब जागिर खा, संगीत छाड्’ पनि भने । बुबाले बैतडी पठाउनुभयो सरकारी कामका लागि । तर, बैतडी पुगेपछि मैले फेरि संगीतकै संसार देखेँ । त्यो दृश्यले संगीतको आत्मा फेरि जगायो । मैले निर्णय गरँे, म फर्कन्छु, संगीतकै बाटोमा । त्यसपछि काठमाडौं फर्केर अर्काे एल्बम तयार गरेँ । पाँचवटा गीत थिए,‘रातो रातो गाला’, ‘हिउँ पर्यो फुरुरु’, ‘हेलम्बुको बजारमा’ र ‘डम्फु राम्रो कोइरला काठको’ लगायत । यी गीतहरूमा प्रेम, पहाडको जीवनशैली र नेपाली संस्कृतिको सुगन्ध मिसिएका छन् । गीत गाउँघरका बुढाबुढीदेखि युवायुवतीसम्मको जिब्रोमा गुन्जिन थाल्यो । 

बिस्तारै मेरो गीत देशभित्र मात्र होइन, विदेशका नेपालीले पनि सुन्न थाले । गीतमा मनोरञ्जन मात्र छैन, कथा, संघर्ष, पहिचान र अस्तित्वको कथा पनि छ । जेलको अँध्यारोमा पनि आशाको स्वर खोजँे, डम्फुको तालमा पीडा उतारेँ । गीत केवल एउटा गायकको कथा होइन, त्यो हजारौँ मौन स्वरहरूको कथा हो । गीतमार्फत फेरि बोल्ने आँट गरेँ । माइकको अगाडि उभिँदा, अतीतको अँध्यारो कोठा सम्झिन्छु । तर, त्यो अँध्यारोले मलाई बलियो बनायो । मलाई कस्टडीको अँध्यारो कोठाले धेरै कुरा सिकायो । गीतको शक्ति कस्तो हुन्छ भन्ने सिकायो । सत्य बोल्नबाट गीतलाई रोक्न सकिँदैन भन्ने सिकायो । अझ मलाई समुदायसँग नजिक हुन सिकायो ।

See More On

सुझावित समाचार