स्थानीय तहका कर्मचारीको विवरण राख्ने अधिकार बागमती सरकारलाई

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

अब बागमती प्रदेश सरकारलाई आफ्ना स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सम्पूर्ण विवरण राख्ने अधिकार प्राप्त भएको छ। राष्ट्रिय किताबखानाले सोमबार बागमती प्रदेशलाई पर्सनल इन्फर्मेसन सिस्टम (पिआइएस) सञ्चालनको जिम्मा हस्तान्तरण गरेसँगै यो अधिकार प्रदेश सरकारले प्रयोग गर्न पाउने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र बागमती प्रदेशका सचिव बाबुराम गौतमबिच पिआइएस विवरण सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसअघि किताबखानाले मात्र कर्मचारीहरूको पिआइएस विवरण रहेको पोर्टल सञ्चालन गर्दै आएको थियो। अब अधिकार प्रत्यायोजनसँगै बागमती प्रदेश सरकारले आफ्नो मातहतका स्थानीय तह र सेवामा कार्यरत कर्मचारीहरूको विवरण आफैँ व्यवस्थापन गर्न सक्नेछ।

महानिर्देशक पोखरेलले हस्ताक्षरपछि भने, ‘हामी सबै प्रदेशमा यो प्रणाली विस्तार गर्ने लक्ष्यसहित अघि बढेका छौँ। बागमती प्रदेशलाई अधिकार हस्तान्तरण पहिलो महत्त्वपूर्ण चरण हो ।’

०७५ सालमा लागू भएको कर्मचारी समायोजन ऐनमार्फत संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी बाँडफाँट भए पनि पिआइएस प्रणालीको नियन्त्रण भने संघकै मातहत थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ९ गते मन्त्रीस्तरीय नीतिगत निर्णय गर्दै प्रदेश सरकारहरूलाई पनि यो अधिकार दिने निर्णय गरेको थियो । 

बागमती प्रदेशका प्रमुखसचिव भूपाल बरालले भने, ‘अब प्रदेश सरकारलाई निजामती र स्थानीय सेवाका कर्मचारीको सरुवा, बढुवा, तलब–भत्ता तथा पदसम्बन्धी सम्पूर्ण विवरण प्रणालीगत रूपमा व्यवस्थापन गर्न सहज हुनेछ ।’
उनका अनुसार यसअघि कर्मचारीको वास्तविक तथ्यांक पत्ता लगाउन कठिनाइ हुँदै आएकोमा प्रणाली सञ्चालनको जिम्मा प्राप्त भएपछि प्रशासनिक कार्यसम्पादनमा दक्षता र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार