आन्दोलनको ४८ दिनपछि सेबोनमा जुट्यो सहमति

धितोपत्र बोर्डका कर्मचारी आजदेखि काममा फर्कँदै

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

अर्थ मन्त्रालयले खाइपाइ आएको सेवा–सुविधा कटौती गरिदिएको भन्दै ४८ दिनदेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारी सोमबारदेखि काममा फर्कने भएका छन् । अर्थ मन्त्रालय र कर्मचारी युनियनबिच आइतबार भएको छलफलमा समस्या समाधानको उपाय खोज्न समिति बनाउने सहमति जुटेसँगै आन्दोलनरत कर्मचारी काममा फर्कन तयार भएका हुन् ।

धितोपत्र बोर्डका कर्मचारी आन्दोलनको मोडालिटी फेरेर सोमबारदेखि काममा फर्कन तयार भएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका निवर्तमान अध्यक्ष राजबहादुर जिसीले बताए । ‘अर्थ मन्त्रलायले यसअघि गरेको निर्णय पुनरावलोकनका लागि एउटा समिति बनाउने, समितिले एक साताभित्रै आफ्नो सुझाव दिने र सोहीअनुसार बोर्ड र मन्त्रालयले निर्णय गर्ने गरी सहमति जुटेका हो,’ उनले भने, ‘सहमतिअनुसार नै हामी पेनडाउन छाडेर काममा फर्कनेछौँ, धर्नालाई भने निरन्तरता नै दिनेछौँ ।’ सहमतिअनुसार नै बोर्डका अध्यक्षलाई पनि कुनै रोकटोक गरिनेछैन । ‘सोमबारदेखि बोर्डले आफ्नो काम गर्नेछ,’ उनले भने । 

नेपाल धितोपत्र बोर्डमा सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषलाई अवैध भन्दै अर्थ मन्त्रालयले खारेज गरिदिएको थियो । अख्तियारले समेत उक्त कोषहरूमाथि अनुसन्धान अघि बढाएपछि अर्थ मन्त्रालयले २ असोजमा बोर्डलाई पत्र पठाएर कोष खारेज गर्ने निर्णय गरेको थियो । तर, खाइपाइ आएको कोषबाट सेवा–सुविधा कटौती गरिएको भन्दै बोर्डका कर्मचारी डेढ महिनादेखि विरोधमा छन्, जसकारण बोर्डको कामकाज ठप्प छ । 

कर्मचारीको अन्दोलनका कारण धितोपत्रका सम्पूर्ण काम ठप्प भएपछि अर्थ मन्त्रालय दबाबमा परेको थियो । अर्थमन्त्री रामेश्वर खनालले शनिबार मातहतका कर्मचारीलाई बोर्डको समस्या सुल्झाएर नियमित काम हुने वातावरण बनाउन निर्देशन दिएका थिए । उनकै निर्देशनपछि आइतबार कर्मचारीसँग सहमति जुटेको हो । विवादको समाधान खोज्न अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको नेतृत्वमा कार्यदल बनेको छ ।

कार्यदलमा सेबोनका दुई सञ्चालक, आइक्यानका प्रतिनिधि र कर्मचारी युनियनका प्रतिनिधि रहेका छन् । ‘समितिले तीन–चार दिनभित्रै आफ्नो राय बोर्डमा पेस गर्नेछ, बोर्डले त्यसलाई मन्त्रालय पठाउनेछ र मन्त्रालयले सोहीअनुसार निर्णय गर्ने सहमति छ,’ उनले भने, ‘समितिले मूलतः अहिलेसम्म केका आधारमा कोष सुविधा दिएको हो र अब कसरी अघि बढ्ने भन्ने सुझाव दिनेछ, यही महिनाभित्र विवादले निकास पाउने आशा छ ।’

See More On

सुझावित समाचार