करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ। संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्य बजारलगायत व्यावसायिक क्षेत्रका पसलहरू बन्द गर्दै विरोध जनाएको हो।
राजविराजमा रहेको करदाता सेवा कार्यालय हटाउने सरकारी निर्णय अन्यायपूर्ण र स्थानीय व्यवसायीहरूका लागि घातक हुने व्यवसायीहरूको तर्क छ। उनीहरूले राजविराजलाई जिल्लाको मुख्य प्रशासनिक र व्यापारिक केन्द्र भएकाले कर कार्यालय यथावत् राख्नुपर्ने माग गरेका छन्।
संघले उक्त निर्णय खारेज नभए आन्दोलनको दायरा व्यापक बनाउने चेतावनी दिएको छ। राजविराजका अधिकांश पसल र व्यापारिक प्रतिष्ठान आज बन्द रहेका छन् भने यातायात र बैंकिङ सेवामा आंशिक प्रभाव परेको छ।