नेपालको लिपुलेक क्षेत्रमा भारतले गर्‍यो अल्ट्रा म्याराथन

नेपाली पक्षलाई छैन औपचारिक जानकारी

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

भारतको उत्तराखण्ड राज्य स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दार्चुलाको उत्तर–पश्चिमी क्षेत्रमा अल्ट्रा म्याराथन दौड आयोजना भएको छ । नेपाली पक्षलाई जानकारी नदिई भारतले दौड आयोजना गरेको हो । १५ हजार फिट उचाइमा भारत सरकारले अल्ट्रा म्याराथन आयोजना गरेको इन्डो–तिब्बतियन बोर्डर पुलिस (आइटिबिपी)का महानिरीक्षक (आइजी) सञ्जय गुञ्ज्यालले जानकारी दिएका छन् । ६० किलोमिटरको अल्ट्रा म्याराथनमा सात सय धावकले प्रतिस्पर्धा गरेका थिए । उच्च हिमाली क्षेत्रमा ६० किलोमिटर दुरी चार घण्टा ४४ मिनेटमा पूरा गर्दै दिगम्बर सिंह पुरुषतर्फ पहिलो भएका छन् । 

महिलातर्फ पौडी गडवालकी मीनाक्षी नेगी ५ घण्टा ४३ मिनेटमा ६० सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । अल्ट्रा म्याराथनमा भारतका २२ राज्य र विदेशीले भाग लिएका थिए । जसमध्ये भारतका सात सय धावक सहभागी थिए । नेपाली भूमिमै अल्ट्रा म्याराथन आयोजना भए पनि आफूलाई जानकारी नै नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

उत्तराखण्ड राज्य स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा भएको अल्ट्रा म्याराथनमा सात सय धावक सहभागी 
 

‘लिपुलेक क्षेत्रमा आयोजना भएको दौडबारे औपचारिक रूपमा कुनै जानकारी छैन, कार्यक्रमका लागि नेपाली पक्षसँग कुनै समन्वय भएको छैन,’ पौडेलले भने । भारत सरकारका सडक परिवहन राज्यमन्त्री अजय टमटा प्रमुख अतिथिका रूपमा सहभागी थिए । भारतको मुम्बईबाट पहिलोपटक सहभागी हुन आएकी महिला धावकले आफू १० किमि दौडिन आएको र सबैभन्दा राम्रो लोकेसन रहेको बताइन् । मध्य प्रदेशबाट आएका राजेश पोरवाल ६० किमिको अल्ट्रा रनिङमा सहभागी भए । ६० वर्षभन्दा माथि उमेर समूहमा दौडिएका उनले दक्षिण अफ्रिका, मलेसियामा म्याराथनको अनुभव रहेको बताए । भारतका विभिन्न क्षेत्रबाट आएका धावक पाँचदेखि ६० किमिसम्मको दूरीको दौडमा सहभागी भए । 

उनीहरूका लागि गुन्जी, नाबीलगायतका गाउँ र आर्मी क्याम्पमा व्यवस्थापन गरिएको थियो । सहभागीका लागि नाबी गाउँमा सांस्कृतिक कार्यक्रम तथा सहभोज कार्यक्रम आयोजना गरिएको थियो । कैलाश क्षेत्रमा अल्ट्रा म्याराथन आयोजनाले पर्यटनलाई एक्सपोज गर्ने सकिने आयोजकले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले कैलाश क्षेत्रमा पहिलो हाई अल्टिच्युडको अल्ट्रा रन सञ्चालन भएको बताए । ‘कैलाशमा भएको ऐतिहासिक अल्ट्रा दौडले साहस र समर्पणको उदाहरण मात्र होइन, सीमावर्ती क्षेत्रमा साहसिक पर्यटन र खेलकुद संस्कृतिलाई पनि नयाँ दिशा दिन्छ,’ मुख्यमन्त्री धामीले भने । लिपुलेक क्षेत्रमा पिथौरागढ जिल्लाका जिल्ला मजिस्ट्रेट (डिएम) आशिषकुमार भटगानी, धारचुलाका एसडिएम जितेन्द्र बर्मालगायत पुगेका थिए । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलले अल्टा म्याराथन दौडका लागि नेपाली पक्षसँग कुनै समन्वय नभएको बताए । ‘हामीलाई औपचारिक जानकारी छैन, तर कार्यक्रमबारे अनौपचारिक रूपमा सूचना पाएका छौँ,’ उनले भने, ‘१०–१२ दिनदेखि तयारी भइरहेको थियो । तर, कुनै समन्वय भएन ।’  

सुझावित समाचार