- नेपालले एकदिवसीय मान्यता पाउँदा र पहिलोपटक टी–२० आई विश्वकपमा सहभागी हुँदा प्रमुख खेलाडीका रूपमा रहेका शरद भेसवाकर हङकङ सिक्सेसमा अन्तिमपटक राष्ट्रको प्रतिनिधित्व गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वभेट्रान खेलाडी शरद भेसवाकरले हङकङमा हुने हङकङ क्रिकेट सिक्सेसपछि सन्न्यास लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले भेसवाकरको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ । नेपाली टोलीको प्रतिनिधित्व गर्दै हङकङ सिक्सेसमा सहभागी हुँदै शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । नेपालले एकदिवसीय मान्यता पाउन तथा सन् २०१४ मा पहिलोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनाउँदा भेसवाकरले महत्वपूर्ण योगदान दिएका थिए ।
‘नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिममा लामो समयदेखि योगदान दिएका राष्ट्रिय क्रिकेट खेलाडी भेसवाकरले हङकङ सिक्सेस प्रतियोगितामा नेपालको कप्तानका रूपमा नेतृत्व गर्नेछन् । यसपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको छ,’ छुम्बीले भने । क्यानले भेसवाकरसँग सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रसिद खान र रूपेशकुमार सिंहसहितको नेपाली टोली घोषणा गरेको हो । नेपाल समूह ‘ए’मा छ । नेपालले समूहमा अफगानिस्तान र दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपालले पहिलो खेल अफगानिस्तानसँग ७ नोभेम्बर र ८ नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई छन् । समूह ‘सी’मा भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘डी’मा बंगलादेश, हङकङ र श्रीलंका छन् ।
प्रतियोगिताको हरेक खेलको प्रत्येक इनिङ्स ६–६ ओभरको हुनेछ । एक टोलीमा ६ खेलाडीले खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा एक ओभर बलिङ गर्न पाउनेछन् । एक खेलाडीले दुई ओभर बलिङ गर्न सक्छन् । सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लोपटक सन् २०२४ मा आयोजना भएको थियो । प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको थियो ।
११ वर्षअघि टी–२० आईमा डेब्यु
भेसवाकर दुई वर्षयता नेपाली राष्ट्रिय टोलीमा छैनन् । सन् २०२२ को १४ फेब्रुअरीमा उनले अन्तिमपटक नेपाली टोलीबाट आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक सन् २०१४ मा टी–२० आईमा डेब्यु गर्दा उनी सदस्य थिए । बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले पहिलोपटक स्थान बनाउन भेसवाकर टोलीकै प्रमुख सदस्य थिए ।
नेपाली टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने भेसवाकरले सन् २०१८ मा नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय सिरिज खेलेका थिए । सन् २०२१ मा उनले अन्तिमपटक नेपालबाट ओमानविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २००४ मा उनले युएईविरुद्ध पहिलो श्रेणीमा डेब्यु गरेका थिए । सन् २०१९ मा एमसिसीविरुद्ध उनको अन्तिम पहिलो श्रेणी खेल रह्यो । यसैगरी भेसवाकरले लिस्ट ‘ए’मा डेब्यु सन् २०१४ मा गरेका थिए । चार वर्षअघि ओमानसँग उनले यस विधाकै करिअरकै अन्तिम खेल खेले ।
आक्रामक ब्याट्सम्यान
नेपाली टोलीमा भेसवाकरलाई विशेषगरी आक्रामक ब्याट्सम्यानका रूपमा चिन्ने गरिन्छ । मध्यक्रममा ब्याटिङ गर्न रुचाउने उनी नेपालका फिनिसर पनि हुन् । अन्तर्राष्ट्रिय खेलमा उनले परस्थितिअनुसार ब्याटिङ गर्थे । भेसवाकरले चार एकदिवसीय खेलमा चारै इनिङ्स ब्याटिङ गरी ६६ रन बनाएका छन् । उनले यस विधामा एक अर्धशतकीय इनिङ्स खेले । यसैगरी, २० टी–२० आईमध्ये १९ इनिङ्समा उनले ३२५ रन जोडेका छन् । पहिलो श्रेणीमा १८९ तथा ३९ लिस्ट ‘ए’मा उनले एक हजार ३७ रन बटुलेका छन् । भेसवाकरले लिस्ट ‘ए’मा आठपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । बलिङमा उनले एकदिवसीय खेलमा दुई विकेट हात पारेका छन् ।