नेपाली क्रिकेटको यात्रा : विश्वकपमा स्थानपछि राष्ट्रिय टोलीको ध्यान लिग–२ मा

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली क्रिकेटले एकपछि अर्काे फड्को मारिरहेको छ । तेस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनाएपछि अब नेपाली टोलीले दुबईमा आयोजना हुने विश्वकप क्रिकेट लिग–२ मा ध्यानकेन्द्रित गरेको छ । लिग–२ कोे त्रिकोणात्मक शृंखलामा नेपालसहित आयोजक संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिका छन् । नेपालले यो शृंखलामा दुवै विपक्षीसँग समान दुई खेल खेल्नेछ ।

गत जेठमा स्कटल्यान्डमा भएको शृंखलामा चारमध्ये तीन खेल जितेको नेपाल पुनः सोही नतिजा दोहोर्‍याउने योजनामा छ । शृंखलामा नेपालले दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । घरेलु टोली स्कटल्यान्डविरुद्ध एक जित र एक हारको नतिजा निकाल्यो । चार महिनाअघि स्टुआर्ट लको आगमनपछि नेपालले पहिलोपटक लिग–२ शृंखला खेल्यो । उत्कृष्ट प्रदर्शन ग¥यो । त्यसअघि मोन्टी देसाईलाई निरन्तरता दिँदा नेपाली टिमको प्रदर्शन बिर्सनलायकको थियो । तर, त्यही मोन्टीले अघिल्लोपटक १२ मध्ये ११ खेल जिताएर नेपालको एकदिवसीय मान्यता जोगाएका थिए । 

पुनः सोही नतिजा दोहोœयाउन नेपाललाई निकै चुनौती छ । स्टुआर्ट लले शनिबार मात्रै १५ सदस्यीय टिम घोषणा गरेका छन् । जसमा स्कटल्यान्डमै खेलेका ओपनर अनिलकुमार शाह र भीम सार्कीलाई कमब्याक गराएका छन् । बाँकी भने टी–२० विश्वकप छनोट खेलेका खेलाडी नै छन् । भर्खरै टी–२० खेल खेलेका नेपाली खेलाडीलाई एकदिवसीय फम्र्याटमा अभ्यस्त हुन भने समय लाग्न सक्छ । त्यसैले पनि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप पुगेको खुसियाली मनाउनुभन्दा पनि युएई पुगेर अभ्यास गर्न प्राथमिकतामा राख्यो । नेपाली टिम ओमानमा च्याम्पियन बनेको भोलिपल्ट नै युएई पुगेको छ । नेपाली टिमले युएईमा एक साता अभ्यास गर्नेछ । 

यसअघि पनि नेपालले युएईमै वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृंखला जितेको थियो । तीन शृंखलामा नेपाल २–१ ले विजयी भएको हो । त्यसैले पनि नेपाली खेलाडी युएईको मौसममा अभ्यस्त छन् । शुक्रबार मात्रै नेपाल आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक च्याम्पियन भएको थियो । सुपर सिक्सको शीर्ष तीनमा रहेका नेपालसहित ओमान र युुएई विश्वकपमा स्थान बनाएका हुन् । 

तालिका सुधार्ने योजना 
युएईको भ्रमणबाट नेपाल कम्तीमा तालिममा सुधार गर्ने योजनामा छ । नेपाल १५ खेल खेल्दा मात्र १२ अंक जोडेर सातौँ स्थानमा छ । लिग–२ मा आठ टिम सहभागी छन् । नेपालको शीर्ष तीनमा उक्लिएर एकदिवसीय मान्यता जोगाउने योजना छ । यदि शीर्ष तीनमा स्थान बनाउन नसके नेपालले एकदिवसीय मान्यता गुमाउनेछ । यो शृंखला खेलिरहेको अमेरिका दोस्रो स्थानमा छ । २० खेल खेलेको उसले २८ अंक जोडेको छ । सर्वाधिक १४ खेल जितेको छ । स्कटल्यान्ड ३० अंकसहित शीर्ष स्थानमा छ । यता, युएई १६ खेलमा मात्र ६ अंक जोडेर पुछारमा रहेको छ । 

लिग–२ को शृंखलामा नेपालले अमेरिकाविरुद्ध ७ कात्तिकमा पहिलो खेल खेल्नेछ । दोस्रो खेल युएईविरुद्ध १३ कात्तिकमा हुनेछ । तेस्रो खेल १५ कात्तिकमा अमेरिकाविरुद्ध हुँदा शृंखलाको अन्तिम खेल १९ कात्तिकमा युएईविरुद्ध हुने तालिका रहेको छ । 

अनिल र भीमको कमब्याक
त्रिकोणात्मक सिरिजका लागि क्यानले घोषणा गरेको टोलीमा तीन खेलाडीले कमब्याक गरेका छन् । शनिबार घोषित टिममा ओपनर अनिलकुमार शाह र ब्याटर भीम सार्की तथा बलर साहव आलमले पुनरागमन गरेका छन् । यस्तै, आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक च्याम्पियन बनाएका अलराउन्डर आदिल आलम, ब्याटर लोकेश बम र सन्दीप जोरा बाहिरिएका छन् । यसबाहेक सबै खेलाडीले निरन्तरता पाएका हुन् । ओमानमा रिजर्भ सूचीमा रहेका खेलाडी साहव आलमले पनि नेपाली टिममा स्थान बनाए । २६ वर्षीय अनिलले यसअघि १७ जुलाई २०२५ मा स्कटल्यायन्डविरुद्ध अन्तिम खेल खेलेका थिए । यस्तै, तीन महिनापछि नै २४ वर्षीय ब्याटर भीमले कमब्याक गरेका हुन् । 

See More On

सुझावित समाचार