राजशाहीमाथिको आक्रोश आगोको लप्का बनी जलेपछि सिंहदरबार अहिले हरियो पछ्यौरीमा छोपिएको छ । तर, सिंहदरबारमाथिको दया र आक्रोश निरन्तर देखिइरहेको छ । जनतालाई पनि सिंहदरबार जलेकोमा आक्रोश छ, नेतालाई पनि सिंहदरबार गुमेकामा आक्रोश छ । सिंहदरबार यस्तो तिलस्मी भवन हो, जसले वैभव प्राप्त गरेको छ, त्यसविपरीत आक्रोश र घृणा पनि उत्तिकै प्राप्त गरेको छ । यो भोग गर्नेले सजाउने र नगर्नेले सराप्ने भवन बन्यो । यो दरबार निर्माण र यसको वैभवको कथा छ्यापछ्याप्ती पाइन्छन्, तर प्रजातन्त्र आएपछि सिंहदरबारमाथिको मोहको सुरुवातको कथा गणेशमान सिंहले मात्रै सुनाएका छन् ।
२००७ सालमा दिल्लीमा राणा, राजा र नेपाली कांग्रेसले एउटा सम्झौता गरे । राजालाई अरू खोपीमा बस्नुनपर्ने भयो । जेल गएका, अनशन बसेका, बन्दुक हातमा लिएका र ज्यान गुमाएकाहरूले नेपालमा प्रजातन्त्र आएको सुने । जनताको प्रतिनिधि भएको सरकार बन्ने भयो । देशमा यति धेरै उत्साह थियो, बिपी कोइरलाका (आत्मवृत्तान्त) अनुसार काठमाडौंमा त्यत्रो भिड पहिलोपटक देखिएको थियो । एयरपोर्टमा राजाको स्वागत गर्न पुगेका जनता देशबाट राणाको शासन हटेकोमा प्रफुल्लित थिए । जनतासँगै राणाप्रधानमन्त्री पनि राजाको स्वागत गर्न एयरपोर्ट पुगे । त्यो दिन आममान्छेले सोच्यो, राणाहरू गए, जनताका दिन आए ।
राणाशासन अन्त्यको ७५ वर्ष पूरा हुँदै छ, जनताको दुःख अन्त्य भएको छैन । ऊवेला कलिला किशोर फासीमा चढ्ने अवस्था थियो, अहिले पनि कलिला जेन–जीहरू फेरि गोली खान सडकमा निस्किरहेकै छन् ।
नेहरूले दिल्लीमा राणालाई सत्तामा साझेदारी गर्न त मनाएका थिए, तर सत्तामाथिको हैकम त्याग्न सिकाउन सकेनछन् । जनता र राजा त्रिभुवन नै झस्कने गरी मोहनशमशेरले शपथ ग्रहणकै दिन आफ्नो रवाफ देखाए ।नारायणहिटीमा राखिएको राणा–कांग्रेसको संयुक्त सरकारको शपथग्रहण गर्न जाँदा मोहनशमशेर बिजुली गारतको फौज लिएर पुगे । गणेशमान सिंहले सुनाएको शपथग्रहणका दिन बिजुली गारतको उपस्थितिले राणाहरूले पुनः सत्ता हत्याउँछन् कि भन्ने भय त्रिभुवनमा देखिन्थ्यो । उनी पसिना–पसिना नै भएका थिए ।
त्यही दिन अर्काे घटना पनि भयो । यो मन्त्रिपरिषद्मा कांग्रेस र राजाले राणालाई प्रधानमन्त्री मानेरै क्रान्तिमा ‘कम्प्रमाइज’ गरिसकेकै थिए । सुरुमै बिपी र राणाबिच एउटा विषयमा विवाद प¥यो । त्यो थियो, ‘पोर्टफोलियो’माथिको विवाद । सम्झौता हुँदा राणाबाट प्रधानमन्त्री रहने र कांग्रेसले दोस्रो वरीयता पाउने तय भएको थियो । नारायणहिटीमा शपथग्रहण गर्न जाँदा कांग्रेसका मन्त्रीहरू त्यही मनस्थितिमा पुगेका थिए । तर, त्यहाँ लफडा गर्न निस्किए, बबरशमशेर ।
समझदारीअनुसार बिपीको वरीयता दोस्रो थियो । तर, सिंहदरबारमा हुर्किएका र मोहनशमशेरपछि प्रधानमन्त्री बन्ने लाइनमा रहेका बबरशमशेरलाई बिपीपछाडि शपथ खाएर आफू अपमानित हुन मन लागेन । बिपीले उमेरको मान राखेर त्यो पनि मानिदिए ।
दर्जनौँको ज्यान र सयौँको अंगभंगपछि बनेको यो सरकारको शासन अहिले चन्द्रशमशेरको त्यही ‘सेन्टिमेन्ट’बाट सय मिटर पनि पर छैन । योसँग पनि चुनाव गराउने चुनौती छ । लोभबाट जोगाउने जिम्मेवारी छ ।
नेपालको त्यत्रो क्रान्तिको उपलब्धि चारजना कांग्रेसलाई मन्त्री पद थियो । क्रान्तिले जनताको मागको सम्बोधनको खाका वा तयारी गर्नु परको कुरा थियो । ती मन्त्रीहरू बस्ने घरसम्म थिएन, मन्त्रालय राख्ने भवन थिएन । बिपी कोइरालाले शपथग्रहणपछिको पहिलो चुनौती नै घर खोज्ने भएको बताएका छन् । नेपालको क्रान्तिपछिको गृह मन्त्रालयले नागरिकको प्रतिनिधित्व गरेर गेस्ट हाउसबाट शासन चलायो । गणेशमान सिंहको घर थियो तर साँघुरो ।
उनले आफूले छिँडीबाट मन्त्रालय चलाएको बताएका छन् । अफिस नभएकाले त्यसवेला उद्योग र वाणिज्य मन्त्रालयमा काम गर्ने सरदार भीमबहादुर पाँडे लामो समय छुट्टीमै बसे । शासन चलाउने स्थान नै नहुँदा शासकको ध्यान जनतामाथि कसरी जान सक्थ्यो र ! पहिलो मन्त्रिपरिषद्को बैठकले खास निर्णय गरेन, मन्त्रालयको व्यवस्था गर्न एउटा प्रस्ताव गर्यो । त्यो प्रस्ताव सिंहदरबार खाली गर्ने थियो ।
राणाहरूले दर्जनौँ दरबार बनाएका थिए । राणातर्फका मन्त्री बस्ने घर भवन थिएन, दरबारहरू नै थिए । जनताका मन्त्री र राणाका मन्त्रीमै वर्गीय भिन्नता थियो । सिंहदरबार मात्रै यस्तो दरबार थियो, जहाँबाट दशकौँ शासन चलाइएको थियो र नेपाल सरकारले चन्द्रशमशेरबाट किनेको थियो । पुरुषोत्तमशमशेर जबराका अनुसार झन्डै पचास लाखमा निर्माण गरिएको अनुमान भएको भवनलाई चन्द्रशमशेरले त्यो जमनामा दुई करोडमा नेपाल सरकारलाई बेचेका थिए ।
चन्द्रशमशेरलाई राख्ने भवन बनाउन नेपाल सरकारको संकटकालीन ढुकुटीमा जम्मा भएको रकम निकालिएको थियो । नेपाल सरकारले यो भवन किन्दै आममानिसको हिस्साको रगत र पसिनाको मूल्य खोसिएको थियो । नेपाल सरकारले दरबार किनेको तथ्य र क्रान्तिले राणाहरूलाई अस्वीकार गरेको सत्य पूरै बेवास्ता गर्दै मोहनशमशेरले भवन नछाड्ने जिद्दी लिए ।
उनले बरु कसरी आफूले जनतामाथि गुन लगाएको भनेर सुनाउन थाले । देशमा प्रजातन्त्र ल्याउन आफूले ठुलो संघर्ष गरेर भाइ–भतिजालाई मनाएको सुनाए । ‘म प्रजातन्त्रका लागि बाधक बन्दिनँ भनेर सबै कुरा मानेँ । अब तपाईंहरू मलाई नै मेरो घरबाट निकाल्ने ?’ उनले प्रतिप्रश्न गरे ।
‘तपाईंको महाराजगञ्जमा त्यत्रो दरबार छ, त्यसले पुग्दैन ?’ बिपीले सोधे ।
‘यो घरसँग मेरा बुबा (चन्द्रशमशेर) को ‘सेन्टिमेन्ट’ गाँसिएको छ, त्यसैले म छाड्न सक्दिनँ ।’
मोहन शम्शेरले जिद्दी गरे– बुबाले स्वर्गे हुने वेलामा यो एउटा सिंहदरबार तिमीहरूले कसैगरी नछाड्नू, यसलाई मैले बडो मिहिनेतसाथ बनाएको हुँ । जसरी भए पनि सुरक्षित राख्नू भनिबक्सेको थियो । बिपी त्यसपछि केही बोलेनन् । सरकारी भवनमाथि मोहनशमशेरको कब्जा जारी रह्यो । मन्त्रालयको व्यवस्थाको जिम्मा मन्त्रीहरूकै भयो । उनीहरूले घरबाटै शासन चलाए । पछि भरतशमशेरको पक्राउपछिको गोर्खादल काण्डमा त्रिपुरेश्वरको त्यही गेस्ट हाउसमा बिपीलाई मार्ने प्रयास भएको थियो ।
त्यो काण्डपछि मोहनशमशेरले सिंहदरबारलाई लेनदेनको अस्त्र बनाए ।
राजीनामा दिन ठिक्क पारिएका उनलाई भारतको प्रेममा थाती राख्न लगाइयो । भारतीय राजदूत सिपिएन सिन्हाले राजीनामा पर सार्न बहाना दिए । सिंहदरबार छाड्न लक्ष्मी निवास सफा गर्न केही समय दिनुहोस् । मोहनशमशेरले सिंहदरबार छाडे, प्रधानमन्त्री पद छाडेनन् । बिजुली गारत नारायणहिटी सारियो । अनि बल्ल सिंहदरबारमा जनताका प्रतिनिधिका शासन चल्न सुरु भयो ।
गणेशमानले त्यसपछिको परिस्थितिलाई यसरी वर्णन गरेका छन् :
कांग्रेसको प्रजातन्त्र आयो भन्ने जुन धाकधक्कु लगाउने त्यसलाई झुलबाहिर लामखुट्टे भुनभुनाएको जस्तो हो भन्थे । देशको शासनधिकारको सर्वोच्च शक्ति प्रयोग गर्ने सिंहदरबारबाट राणा प्रधानमन्त्री मोहनशमशेरलाई निकालेर जनताको उन्नति र प्रगतिका लागि काम गर्ने सरकारका मन्त्रालय स्थापना भएको देखेपछि सर्वसाधारणले राणाशासन पक्कै गएको रहेछ भन्ने पहिलोपटक अनुभव गरे ।
सिंहदरबारलाई लोभ र भ्रष्टाचारको अड्डा बनाउन राणाहरूको ठुलो भूमिका थियो । त्यसलाई निरन्तरता प्रजातन्त्रका लागि लडेका भन्नेहरूले नै दिए, त्यो सबैभन्दा बढी दुर्भाग्य हो । देश राजाका बाहरूले बनाएका थिए त्यसैले शासन कुशासन सब गर्ने अधिकार उनीहरूसँग थियो । तर, जनताबाट जनताले चुनेर जनताका लागि सिंहदरबार पुगेकाहरूले मोहनशमशेरको भूतलाई आफूमाथि हाबी भइरहन दिए ।
बिपी र गणेशमान सम्मिलित त्यो सरकारलाई संविधानसभाको चुनाव गर्ने म्यान्डेट थियो, जुन पूरा भएन । हरेक वर्ष प्रधानमन्त्री फेरिइरहे । आन्दोलन गरेर सत्तामा गएकाहरू फेरिए । भारतको शरणमा परेर खोपीबाहिर निस्किएका राजा फेरिए, जनताको अवस्था फेरिएन ।
राणाशासन अन्त्यको ७५ वर्ष पूरा हुँदै छ, जनताको दुःख अन्त्य भएको छैन । ऊवेला कलिला किशोर फासीमा चढ्ने अवस्था थियो, अहिले पनि कलिलाहरू फेरि गोली खान सडकमा निस्किरहेकै छन् । मोहनशमशेरले सत्य बोलेका थिए, सिंहदरबारमा चन्द्रशमशेरको सेन्टिमेन्ट जोडिएको छ । दर्जनौँको ज्यान र सयौँको अंगभंगपछि बनेको यो सरकारको शासन अहिले त्यही चन्द्रशमशेरको सेन्टिमेन्टबाट सय मिटर पनि पर छैन । योसँग पनि चुनाव गराउने चुनौती छ । लोभबाट जोगाउने जिम्मेवारी छ ।
सत्तामा विद्रोहमार्फत पुग्ने जोकोहीले त्यो विद्रोहको हिसाब दिनुपर्छ । अहिलेका लागि चुनाव गराएर सत्ता सुम्पिनु त्यो हिसाबको सानो अंश हो । जलेका भवनमाथिको न्याय जोकोहीको दोषीमाथि कारबाही गर्नु हो । जसरी जेन–जी पुस्ता नेपोबेबी भन्दै आक्रोशित हुन्थ्यो, त्यसैगरी अब जेन–जी लिडरका नाममा आक्रोशित हुने दिन नओओस्, जसको छिटपुट दृश्य देखिन थालेका छन्, ती बढेर यो देशको अर्काे श्राप नबनोस् ।