राष्ट्र बैंकले थप अर्काे निर्देशन जारी गर्दै सर्त तोकेर लघुवित्तलाई लाभांश बाँड्न पाउने सीमा बढाएको छ । यसअघि लघुवित्तलाई १५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न भनेको थियो । त्योभन्दा बढी लाभांश दिएमा १५ प्रतिशतमाथिको लभांशको ५० प्रतिशत रकम जगेडामा राख्नुपर्ने व्यवस्था गरेको थियो । तर, अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउँछन् । तर, त्यसका लागि निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्नेछ ।
लाभांश वितरणपछिको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि हुनुपर्नेछ । पाँच प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएका लघुवित्तले पुँजीकोष अनुपात १०–१२ प्रतिशत कामय हुने भए २० प्रतिशतसम्म र ८–१० प्रतिशत कायम हुनेभए १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन् ।
पाँचदेखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा भएका लघुवित्तले पुँजीकोष अनुपात ८–१० प्रतिशत कायम हुने भएमा १० प्रतिशत मात्र लाभांश बाँड्न पाउनेछन् । पुँजीकोष अनुपात १०–१२ प्रतिशत हुने भए १५ प्रतिशत र १२ प्रतिशतभन्दा माथि हुने भए २० प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन् । यस्तै, १० देशि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तले पाँचदेखि १५ प्रतिशसम्म लाभांश बाँड्न पाउनेछन् ।
पुँजीकोष अनुपात ८–१० प्रतिशत हुने भएमा पाँच प्रतिशत लाभांश दिन पाइनेछ । पुँजीकोष अनुपात १०–१२ प्रतिशत भएमा १० प्रतिशत र १२ प्रतिशतभन्दा माथि हुने भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाइनेछ । १५ प्रतिशतभन्दा बढी निष्क्रीय कर्जा भएकालाई लाभांश वितरणमा रोक लगाइएको छ । यस्तै, लघुवित्तले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई धितो नलिई तीन लाख रुपैयाँसम्म कर्जा दिन सक्नेछन् । महिलाको हकमा भने पाँच लाख रुपैयाँसम्म कर्जा दिन सकिने निर्देशनमा उल्लेख छ ।