साउनमा दुई अर्ब १५ करोड पुँजीगत लाभकर

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो महिना साउनमा दुई अर्ब १५ करोड १७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ । लगानीकर्ताले सेयर कारोबारमा भएको नाफाबाट साउनमा सरकारलाई सोबराबरको पुँजीगत कर बुझाएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाएको हो ।

साउनमा व्यक्तिगततर्फ दीर्घकालीन सेयर कारोबारबाट ६५ करोड दुई लाख ५९ हजार र अल्पकालीन सेयर कारोबारबाट एक अर्ब २१ करोड ४१ लाख ४२ हजार रुपैयाँ राजस्व उठेको छ । सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा भने ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । यस्तै, साउनमा संस्थागत कारोबारबाट २९ करोड ३१ लाख ६६ हजार रुपैयाँ पुँजीगत कर उठेको छ । संस्थागत रूपमा सेयर कारोबार गर्नेले खुद नाफाको १० प्रतिशत कर तिर्नुपर्छ ।

साउनमा उठेको पुँजीगत लाभकर अघिल्ला महिनाहरूको तुलनामा बढी हो । तथ्यांकअनुसार चैतमा ६९ करोड ३५ लाख रुपैयाँ, वैशाखमा एक अर्ब २२ करोड ९२ लाख रुपैयाँ, जेठमा एक अर्ब १७ करोड ८२ लाख रुपैयाँ र असारमा एक अर्ब २७ करोड १२ लाख रुपैयाँ कर उठेको थियो । उक्त महिनाहरूको तुलनामा साउनमा पुँजीगत लाभकर उच्च हो ।

यद्यपि, गत आव ०८१/८२ को साउन महिनाको तुलनामा भने यो कम हो । गत आवको साउनमा चार अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । गत आवको साउनमा सेयर बजार बढेको थियो । साथै, कारोबार पनि उच्च थियो । त्यसले गर्दा गत आवको साउनमा पनि उच्च मात्रामा पुँजीगत लाभकर उठेको थियो । तथ्यांकअनुसार गत आवभर भने १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले साउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेका कारण पुँजीगत लाभकर संकलन पनि उच्च भएको बताए । यसैगरी, सेयर कारोबार पनि उच्च हुँदा पनि कर संकलन उच्च हुने गरेको थियो ।

गत असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । साउनमा त्यो बढेर तीन हजारभन्दा माथि पुग्यो । साउन १३ गते नेप्से परिसूचक बढेर ३००२.०७ विन्दुमा पुगेको थियो । यद्यपि, त्यसपछि भने नेप्से परिसूचक घट्यो । साउन मसान्तसम्म आउँदा नेप्से २८३२.०६ विन्दुमा कायम भएको थियो । यसरी सेयर बजार बढ्दा लगानीकर्ताले नाफा कमाएका थिए ।

यसबिचमा सेयर कारोबार पनि उच्च भयो । साउनमा दुई खर्ब ८९ अर्ब ५८ करोड ८७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । साउन ११ गते एकै दिन २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

नेप्से सूचक बढेका वेला कारोबार रकमसमेत उच्च मात्रामा हुँदा रकमका आधारमा लगानीकर्ताले कमाउने नाफा पनि धेरै हुने गर्छ । त्यसले गर्दा पनि पुँजीगत लाभकर बढाउन सहयोग पुगेको जानकारवाला बताउँछन् ।

सुझावित समाचार