दुईपटकको च्याम्पियन ओमानको समूहमा नेपाल

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण
  • एएफसी यू–१७ पुरुष एसियन कपको ‘ड्र’अनुसार नेपालले ओमान, म्यानमार, सिरिया र अफगानिस्तानको सामना गर्ने

दुईपटकको च्याम्पियन ओमान र नेपाल एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’मा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’मा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ । यस समूहको छनोट खेल म्यानमारमा हुनेछ । नेपालको समूहमा सिरिया, अफगानिस्तान र आयोजक म्यानमार रहेका छन् । नेपालले एक दशकयता यू–१७ एसियन कप छनोटको समूह चरण पार गरेको छैन ।

नेपालले अन्तिमपटक सन् २०१४ मा एसियन कप खेलेको थियो । नेपाले यू–१७ एसियन कप तीनपटक खेलिसकेको छ । ओमानले सन् १९९६ र २००० मा एसियन कप उपाधि जितेको थियो । म्यानमारले अन्तिमपटक एसियन कप खेलेको सन् २००६ मा हो । सिरियाले सन् २००४ मा एसियन कपमा चौथो स्थान हात पारेको थियो । नेपालको समूहमा रहेको अर्को प्रतिद्वन्द्वी अफगानिस्तानले सन् २०२४ को संस्करणको एसियन कप खेलेको थियो ।

छनोट खेलमा ३८ टोली 
अर्को वर्ष आयोजना हुने यू–१७ एसियन कप छनोटमा ३८ टोलीको सहभागिता रहनेछ । एएफसीले सहभागी राष्ट्रलाई सात समूहमा विभाजन गरेको छ । तीन समूहमा समान ६ टोली छन् । बाँकी चार समूहमा समान पाँच टोली छन् । छनोट चरणका खेल २२ देखि ३० नोभेम्बरसम्म चल्नेछ । एएफसीले छनोट खेलका आयोजकको जिम्मेवारी थाइल्यान्ड, भियतनाम, म्यानमार, सिंगापुर, जोर्डन, किर्गिजस्तान, ताजिकिस्तान र साउदी अरबलाई दिएको छ । छनोट खेल आयोजना गर्न भुटान पछि हटेपछि थाइल्यान्डले अवसर पाएको हो ।

प्रत्येक समूहका विजेता टोली सन् २०२६ को फाइनल चरणमा प्रवेश गर्नेछन् । विश्वकपमा स्थान बनाइसकेका कतार, उज्वेकिस्तान, साउदी अरब, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताजिकिस्तान, युएई र इन्डोनेसिया भने एसियन कपमा छनोट भइसकेका छन् ।

एएफसी यू–१७ महिला एसियन कपको ‘ड्र’ सार्वजनिक
एएफसीले बिहीबारै अर्को महत्वपूर्ण प्रतियोगताको ‘ड्र’ सार्वजनिक गरेको छ । एएफसीले महिलातर्फको यू–१७ एसियन कप छनोटको ड्र सार्वजनिक गरेको हो । नेपाल कठिन मानिएको समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा थाइल्यान्ड र तुर्किमेनिस्तान छन् ।

यो समूहको खेल थाइल्यान्डमा हुनेछ । नेपालले हालसम्म समूह चरण पार गर्न सकेको छैन । महिला यू–१७ एसियन कप छनोटमा २७ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । तीन समूहमा समान चार टोली छन् ।

यसबाहेक अन्य पाँच समूहमा भने समान तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहका शीर्ष टोलीले आगामी वर्ष चीनमा हुने एएफसी यू–१७ महिला एसिया कपमा स्थान बनाउनेछन् । चीन, दक्षिण कोरिया, जापान र उत्तर कोरियाले यसअघि नै प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् ।

सुझावित समाचार