सबैभन्दा कम विद्युतीकरण भएको कर्णालीमा सबैभन्दा बढी विद्युत् चुहावट

चारवटा प्रदेशको विद्युत् चुहावट राष्ट्रिय औसतभन्दा माथि, सबैभन्दा कम बागमतीमा

बिहिबार, २३ साउन, २०८२
डिजिटल संस्करण

सबैभन्दा कम विद्युतीकरण भएको कर्णाली प्रदेशमै सबैभन्दा बढी विद्युत् चुहावट भइरहेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गएको आर्थिक वर्षमा कर्णाली प्रदेशमा विद्युत् चुहावट २१.७४ प्रतिशत देखिएको हो । जुन प्राधिकरणका मुख्य नौ वितरण केन्द्रमध्येकै सबैभन्दा बढी हो ।

उत्पादन भई प्रणालीमा जोडिएको विद्युत्को परिमाण (युनिट) र ग्राहकको मिटरमा देखिएको विद्युत् युनिटबिचको अन्तर नै चुहावट हो । कमजोर पूर्वाधार तथा प्रणाली, तारमा रुखले छुँदा, पुरानो प्रविधि, वितरण लाइनको लम्बाइ र चोरीलगायत कारण विद्युत् चुहावट हुन्छ । कर्णालीको विद्युत्को पूर्वाधार तथा प्रणाली सबल भइनसकेको अवस्थामा चुहावट पनि बढी भएको हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । कर्णालीमा विद्युत्को पहुँच करिब ७५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ ।

नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट नयाँ पत्रिकालाई प्राप्त प्रारम्भिक तथ्यांकले कर्णाली प्रदेश कार्यालयअन्तर्गतका वितरण प्रणालीमा गत आवमा १२ करोड नौ लाख ८४ हजार युनिट विद्युत् प्राप्ति भएको छ । त्यसमा खपत भने नौ करोड ४६ लाख ८४ हजार युनिट मात्रै भएको छ । गत आवमा कर्णालीमा दुई करोड ६३ लाख युनिट विद्युत् चुहावट भएको छ ।

प्राधिकरणको कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख शशीभूषण शाहले प्राविधिक रूपमै कर्णालीमा धेरै विद्युत् चुहावट भएको बताए ।  अहिले कर्णालीमा विद्युत् सप्लाई गर्न १३२ केभीको लाइन बनाउने तयारी भइरहेको छ । त्यो भएमा विद्युत् चुहावट कम हुने उनको भनाइ छ ।

प्राधिकरणले सात प्रदेश र केही ठुला सहरमा प्रादेशिकस्तरको कार्यालय स्थापना गरेर विद्युत् आपूर्ति गर्दै आएको छ । धेरै विद्युत् चुहावट हुनेमा मधेश प्रदेश दोस्रो स्थानमा छ । गत आवमा मधेश प्रदेशमा १५.१५ प्रतिशत विद्युत् चुहावट भएको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेश कार्यालयअन्तर्गतको प्रणालीमा गत आवमा दुई अर्ब ८२ करोड ८२ लाख युनिट प्राप्ति भएको छ । त्यसमा खपत भने दुई अर्ब ३९ करोड ९८ लाख युनिट भएको छ । त्योअनुसार मधेशमा ४२ करोड ८४ लाख युनिट विद्युत् चुहावट भएको छ ।

तेस्रो स्थानमा भने सुदूरपश्चिम प्रदेश रहेको छ । गत आवमा सुदूरपश्चिमको प्रणालीमा ४८ करोड ८० लाख युनिट विद्युत् प्राप्ति भएको थियो । त्यसमा ४२ करोड नौ लााख ६७ हजार युनिट विद्युत् खपत भएको छ । ६ करोड ७० लाख ३३ हजार युनिट विद्युत् चुहावट भएको देखिन्छ ।

तथ्यांकअनुसार कोशी प्रदेशमा १२.२७ प्रतिशत विद्युत् चुहावट भएको छ । त्यहाँको प्रणालीमा दुई अर्ब २० करोड ३७ लाख युनिट विद्युत् प्राप्ति भएको छ । त्यसमा एक अर्ब ९३ करोड ३४ लाख विद्युत् खपत भएको छ । योअनुसार त्यहाँ २७ करोड तीन लाख युनिट विद्युत् चुहावट भएको छ ।

यस्तै, गण्डकी प्रदेशमा विद्युत् चुहावट ८.८० प्रतिशत देखिएको छ । त्यहाँ ८१ करोड सात लाख १८ हजार युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने ७३ करोड ९४ लाख ६ हजार युनिट देखिएको छ । योअनुसार त्यहाँ सात करोड १३ लाख १२ हजार युनिट विद्युत् चुहावट भएको देखिन्छ ।

यस्तै, लुम्बिनी प्रदेशमा विद्युत् चुहावट ८.६५ प्रतिशत देखिएको छ । त्यहाँ एक अर्ब ८१ करोड ९१ लाख युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने एक अर्ब ६६ करोड १७ लाख युनिट रहेको छ । त्योअनुसार त्यहाँ १५ करोड ७४ लाख युनिट विद्युत् खेर गएको छ ।

यस्तै, बागमती प्रदेशमा विद्युत् चुहावट ६.५१ प्रतिशत देखिएको छ । यो प्रदेशमा दुई अर्ब ७२ करोड ५० लाख युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने दुई अर्ब ५४ करोड ७५ लाख युनिट भएको छ । योअनुसार बागमतीमा १७ करोड ७५ लाख युनिट विद्युत् चुहावट भएको छ ।

बढ्यो चुहावट, सार्वजनिक गरिएन तथ्यांक
विगत तीन वर्षसम्म निरन्तर घट्दै आइरहेको वितरणतर्फको विद्युत् चुहावटको हिस्सा गत आर्थिक बर्ष ०८१/८२ मा १.१७ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८०/८१ मा वितरणतर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो । गत आवमा त्यो बढेर १०.७६ प्रतिशत पुगेको छ । वितरण प्रणालीमा १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत् प्राप्ति भएको देखिएको छ ।

त्यसमा खपत भने ११ अर्ब २८ करोड ६४ लाख युनिट भएको छ । योअनुसार गत आवमा एक अर्ब ३६ करोड १४ लाख युनिट विद्युत् चुहावट भएको छ, जुन १०.७६ प्रतिशत हो । ०८०/८१ प्राधिकरणको औसत विद्युत् बिक्रीदर प्रतियुनिट ९.७४ रुपैयाँ थियो । त्यो अवस्थामा गत आवमा १३ अर्ब २४ करोड ६४ लाख रुपैयाँको विद्युत् चुहावट भएको देखिन्छ । विवादमा पर्ने डरमा प्राधिकरणले औपचारिक रूपमा यो तथ्यांक सार्वजनिक गरिसकेको छैन ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले अन्तिम तथ्यांक तयार भइनसकेको बताए । ‘हामीले यससम्बन्धी तथ्यांक तयार गर्दै छौँ । यो तथ्यांक कहाँबाट आयो थाहा छैन । अबको केही दिनमा यससम्बन्धी आधिकारीक तथ्यांक तयार हुन्छ,’ उनले भने, ‘विद्युत् चुहावट अघिल्लो आव ०८०/८१ कै हारहारीमा हुने अपेक्षा छ ।’

विद्युत् चुहावट के हो, कसरी हुन्छ ?
विद्युत् प्रणालीमा प्रवाह भएको विद्युत्को मात्रा र ग्राहकको मिटरमा देखिएको युनिटको फरक नै चुहावट हो । कमजोर पूर्वाधार तथा प्रणाली, तारमा रुखले छुँदा, पुरानो प्रविधि, वितरण लाइनको लम्बाइ र चोरीलगायत कारण विद्युत् चुहावट हुन्छ । विद्युत् चुहावट प्राविधिक र गैरप्राविधिक गरेर दुई प्रकारका हुन्छन् ।

प्राविधिकतर्फ गत आवमा विद्युत् ट्रिपिङ धेरै भयो । लामो समयसम्म विद्युत् जाने समस्या गत आवमा देखियो । यसैगरी, वितरणलाइन सुदृढीकरणको काम पनि राम्रोसँग हुन सकेन । त्यसले गर्दा गत आवमा विद्युत् चुहावट बढेको स्रोतको भनाइ छ । मुख्यत: वितरणलाइन सुदृढीकरणमा प्राधिकरणले पर्याप्त काम गर्न नसक्दा यस्तो समस्या आएको उनले बताए ।

सुझावित समाचार