सल्यानमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पदंशका बिरामी बढेपछि अस्पतालमा समेत चाप पर्न थालेको छ । जिल्ला अस्पताल सल्यानमा दैनिक तीनजनादेखि पाँचजनासम्म सर्पदंशका बिरामी आउने गरेको अस्पतालका आपतकालीन स्वास्थ्य सेवा प्रमुख जीवन पुनले जानकारी दिए। उनका अनुसार अस्पतालमा उपचारका लागि पुग्नेमध्ये कुनै गम्भीर प्रकृतिका समेत रहेका हुन्छन्।
अस्पताल आएका बिरामीमध्ये केही अस्पतालमा भर्ना गरेर उपचार आवश्यक पर्ने अवस्थामा हुन्छन्। उनले भने, ‘केही महिनादेखि अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । अस्पतालमा आएका केही बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।’सल्यानमा आर्थिक वर्ष ०८०/८१ मा ४७ जना महिला, २२ जना पुरुष घाइते भएका थिए। एकजनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा १० जना महिला र ११ जना पुरुष गरी २१ जना घाइते भएका थिए ।
डा. बुद्धिनाथ शाहले सर्पले डसेका बिरामीका लागि आवश्यक खोप अस्पतालसहित अन्य सामुदायिक अस्पतालहरूमा उपलब्ध रहेको बताए। उनले जडीबुटी वा धामीझाँक्रीमा भर नपरी बिरामीलाई सकेसम्म चाँडो अस्पताल ल्याउन अभिभावकहरूसँग आग्रह गरे। सर्पको टोकेको उपचारमा ढिलाइ भएमा ज्यानसमेत गुम्ने जोखिम रहने भएकाले समयमा नै स्वास्थ्य संस्थासम्म लैजानुपर्ने उनको भनाइ छ ।
चिकित्सकहरूका अनुसार विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुन्निने, घाउ हुने, घाउ पाकेर चिलाउनेजस्ता सामान्य समस्या देखिन्छ। जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरका अनुसार विषालु सर्प पनि दुई प्रकारका हुन्छन्। एउटा रगत पातलो बनाउने र अर्को नसा र मांसपेशीमा असर गर्ने सर्प हुने। सल्यान अस्पतालमा भर्ना भएका सर्पदंशका बिरामीमा रगत जम्ने समस्या देखिने गरेको डा. बुढाले बताए।
गोमन र करेत सर्पले टोकेकोमा स्नायु प्रणाली असर पारी सुरुवाती चरणमा बान्ता हुने, वाकवाकी लाग्ने, अचेत अवस्था हुँदै जाने, बिस्तारै आँखाको परेली माथि हेर्न नसक्ने, श्वासप्रश्वास बन्द हुनेजस्ता लक्षण लिएर सर्पदंशका बिरामी आउने गरेको डा. बुढाको भनाइ छ ।
जेठदेखि भदौसम्म सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने गरेको चिकित्सकको भनाइ छ । सल्यान जिल्ला अस्पतालका आपतकालीन स्वास्थ्य सेवा प्रमुख पुनका अनुसार अस्पतालमा प्रायः हरियो सर्प, गोमन र करेत आदि सर्पको टोकाइपछि उपचारका लागि पुग्ने गरेका छन् ।