- चालू आवको ११ महिनामा आठ लाख ३८ हजार २७८ पटक कारोबार हुँदा दुई अर्ब ४१ करोड ८० लाख रुपैयाँबराबरको भुक्तानी प्राप्ति
जेठ महिनामा ४० करोड ३० लाख रुपैयाँबराबरको नेपाल–भारत अन्तरदेशीय ‘क्विक रेस्पोन्स कोड’ (क्युआर) भुक्तानी प्राप्ति भएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त जेठ महिनाको डिजिटल भुक्तानीसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
भारतीय पर्यटक तथा नागरिक नेपाल आएर जेठमा सोबराबरको क्युआर भुक्तानी गरेका हुन्, जुन मासिक रूपमा हालसम्मकै उच्च हो । यसअघि पुसमा ३१ करोड ४० लाख रुपैयाँबराबरको यस्तो कारोबार भएको थियो । जेठमा संख्याका आधारमा एक लाख ५० हजार दुई सय २८ वटा यस्तो कारोबार भएको थियो । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले भारतको फोनपेसँगको सहकार्यमा फागुन ०८० देखि सीमापार क्युआर भुक्तानी प्राप्ति सुरु भएको थियो । त्यसअन्तर्गत भारतीय फोनपे, पेटिएम, गुगल–पे र भीम एपबाट नेपाली फोनपेको मर्चेन्ट खाताको क्युआर स्क्यान गरेर भुक्तानी गर्न मिल्छ, जुन पछिल्लो समय बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तो सेवा सञ्चालनमा आएको आव ०८०/८१ (फागुन–असार)मा ३२ करोड १० लाख रुपैयाँबराबरको एक लाख ३४ हजार सात सय एक अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति भएको थियो । अहिले एक महिनामै त्योभन्दा धेरै कारोबार हुन थालेको छ ।
चालू आव ०८१/८२ को ११ महिनामा भने दुई अर्ब ४१ करोड ८० लाख रुपैयाँबराबरको यस्तो भुक्तानी भएको छ । संख्याका आधारमा आठ लाख ३८ हजार दुई सय ७८ वटा यस्तो कारोबार भएको छ । तथ्यांकअनुसार साउनमा नौ करोड ५० लाख रुपैयाँबराबरको ३८ हजार दुई सय ६ वटा कारोबार भएको थियो । त्यसपछि भदौमा १० करोड ५० लाख रुपैयाँबराबरको ३७ हजार तीन सय ९३ वटा, असोजमा १३ करोड ९० लाख रुपैयाँबराबरको ४३ हजार नौ सय ६ वटा कारोबार भएको तथ्यांकमा देखिन्छ ।
कात्तिकमा १५ करोड ६० लाख रुपैयाँबराबरको ५० हजार चार सय ५५ वटा, मंसिरमा १९ करोड ३० लाख रुपैयाँबराबरको ५६ हजार सात सय १२ वटा, पुसमा ३१ करोड ४० लाख रुपैयाँबराबरको ८९ हजार एक सय ८६ वटा, माघमा २६ करोडबराबरको ७३ हजार ६ सय एक, फागुनमा २० करोड ५० लाख रुपैयाँबराबरको ८१ हजार एक सय ७९ वटा र चैतमा २५ करोड २० लाख रुपैयाँबराबरको एक लाख एक हजार दुई सय ८३ वटा यस्तो भुक्तानी भएको छ । यस्तै, वैशाखमा २९ करोड ७० लाख रुपैयाँबराबरको एक लाख १६ हजार एक सय २९ वटा र जेठमा ४० करोड ३० लाख रुपैयाँबराबरको एक लाख ५० हजार दुई सय २८ वटा यस्तो भुक्तानी भएको छ ।