रामेछापका आठवटै स्थानीय तहले समयसीमाभित्रै ल्याए बजेट

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

देशका केही स्थानीय तहलाई अहिलेसम्म बजेट ल्याउन सकस परिरहेका वेला रामेछापका आठवटै स्थानीय तहहरूले भने सरकारले तोकेको समयसीमाभित्रै आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि पूर्वाधार, खानेपानी, शिक्षा, रोजगारी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।

जसमध्ये जनसंख्याको हिसाबले सबैभन्दा ठुलो सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को लागि एक अर्ब चार करोड ६५ लाख ६४ हजार दुई सय दुई रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालू खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरेको छ । 

त्यसैगरी रामेछाप नगरपालिकाले ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालू खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो । 

त्यस्तै, लिखु तामाकोशी गाउँपालिकाले ६८ करोड २५ लाख ८६ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो। त्यसैगरी, गोकुलगंगा गाउँपालिकाले ५६ करोड ९८ लाख ९४ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ भने खाँडादेवी गाउँपालिकाले ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो । 

त्यसैगरी, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाले ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँबराबरको बजेट ल्याएको छ । त्यस्तै, सुनापति गाउँपालिकाले ५६ करोड ५० लाख ३९ हजार र जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिकाले ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँबराबरको बजेट ल्याएको छ ।

नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले असार १० गते अर्को वर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाहरूले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेका हुन् । 
 

सुझावित समाचार