इरानले हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले गुहार्‍यो चीन

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

अमेरिकाले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग हर्मुज स्ट्रेट बन्द गर्नबाट रोक्न चीनसँग आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त जलमार्ग खुलाउन इरानसँग समन्वय गर्न बेइजिङसँग आग्रह गरेका हुन् । ‘म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्छु ।

खासगरी, इराक, कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ हर्मुजको प्रयोग हुने गर्छ । यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ,’ रुबियोले अमेरिकी समाचार संस्था फक्स न्युजसँग भने । विदेशमन्त्री रुबियोले भने, ‘यदि इरानले हर्मुज मार्ग रोक्ने कदम चाल्यो भने यो अर्को भयानक गल्ती हुनेछ । इरानी शासकले हर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूका लागि आर्थिक संकट निम्त्याउने कडी बन्न सक्छ ।’  

रणनीतिक महत्व राख्ने हर्मुज स्ट्रेट
हर्मुज स्ट्रेट, इरान र ओमानको सिमानामा रहेको एक रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग हो, जसले पर्सियन गल्फ र ओमानको खाडीलाई जोड्छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्ण छ, किनकि इराक, कतार तथा इरान, दुबई र केही अरब राष्ट्रको तेल निर्यात यही मार्ग भएर हुने गर्छ । 

हर्मुज स्ट्रेट विश्वभर ग्यास आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण क्षेत्र हो । यसले तेलका धनी मानिने मध्यपूर्वका देशलाई एसिया, उत्तर अमेरिका र युरोपलगायत विश्वका अन्य भागसँग जोड्ने काम गर्छ । हर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ । यही रणनीतिक महत्वका कारण यो क्षेत्र दशकौँदेखि क्षेत्रीय विवाद र भूराजनीतिक तनावको केन्द्रमा रहँदै आएको छ । विश्लेषकले इरानले वासिंटनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेटलाई लामो समय बन्द गर्न सक्ने अनुमान गरेका छन् । 

यसैबिच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने अखडामा आक्रमण गर्ने धम्की दिएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सल्लाहकारले ती अखडालाई ‘आफ्नो (इरानको) सशस्त्र बलको वैध निसाना’ मानिने बताए । 

See More On

सुझावित समाचार