आयोजकले स्विकार्‍यो रेफ्रीको गल्ती

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण
आयोजकले स्विकार्‍यो रेफ्रीको गल्ती

गत शनिबार एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्ध ललितपुरका मणिकुमार लामा (सेतो)लाई रातो कार्ड देखाउँदै मुख्य रेफ्री उमेश बिडारी । फाइल तस्बिर

  • धनगढीविरुद्ध ललितपुरका मणिकुमार लामालाई मुख्य रेफ्री उमेश बिडारीबाट रातो कार्ड देखाइनु गम्भीर गल्ती भएको एनएसएलको आयोजक एनएसइएमको ठहर

तेस्रो नेपाल सुपर लिग (एनएसएल)ले पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्धको प्रतिस्पर्धामा मुख्य रेफ्री उमेश बिडारीका केही निर्णयमा गल्ती भएको स्विकारेको छ । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले रेफ्री बिडारीको गल्तीका कारण प्रतिस्पर्धामा ललितपुर एफसीका मणिकुमार लामाले रातो कार्ड पाएको जनाएको छ ।

एनएसइएमले मंगलबार मणिकुमारविरुद्धको रातो फिर्ता लिएको छ । यो निर्णयसँगै उनले फाइनल खेल्न पाउने भएका छन् । दशरथ रंगशालामा गत शनिबार धनगढीविरुद्ध मणिले १६औँ मिनेटमा रातो कार्ड पाएका थिए । बल नियन्त्रण लिने प्रयासमा मणिको खुट्टा धनगढीका मिडफिल्डर मोहमम्द अल जाउलिनीनजिक पुगेको थियो । तर, मोहमदले सीधै मणिका छात्तीमा बुट प्रहार गरे । तर, मुख्य रेफ्री बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गर्दै उल्टै मणिलाई सिधै रातो कार्ड देखाए । कुनै गल्ति नगरेका आफ्ना खेलाडीलाई रातो कार्ड देखाइएको भनी ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गरेको थियो । 

ललितपुरको अपिलमाथि सुनुवाई गर्दै एनएसइएम र अपिल समितिले मंगलबार मणिले पाएको रातो कार्ड फिर्ता लिएको हो । ‘सो घटनाका प्राप्त विभिन्न क्यामेरा कोण र प्रोडक्सन टोलीबाट उपलब्ध गराएको फुटेजको आधारमा मणिले कुनै स्पष्ट प्रतिशोधको कार्य गरेको प्रमाण भेटिएन,’ एनएसइएमले ललितपुरलाई पठाएको पत्रमा उल्लेख छ, ‘मैदानमा मोहम्मद लड्दा मणिको खुट्टाले कतै लागेको देखिँदैन । तर, मोहमद मैदानमा लडेर नाटक गरेको देखिन्छ ।’ 

दुई खेलाडी एक आपसमा ठोक्किदा ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले रेफ्री बिडारीलाई आफ्ना खेलाडीलाई कारवाही नगर्न आग्रह गरेका थिए । सहायक रेफ्री किसन कन्हैयाले पनि घटनामा कुनै प्रतिवाद गरेनन्। उल्टै मणिको छात्तीमा प्रहार गर्ने मोहम्मदले पहेँलो कार्ड मात्रै पाएका थिए । आयोजक एनएसइएम मणिले कुनै ‘फल’ गर्ने काम नगरेको स्विकार गरेको छ ।
 

See More On

सुझावित समाचार