दुर्लभ जीव हिउँचितुवाको अनुगमन गरिँदै

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’का माध्यमबाट  हिउँचितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँचितुवाबिचको द्वन्द्व बढेपछि हिउँचितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका बारागुङ मुक्तिक्षेत्र– ३ समरआसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँटमाथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ । 

 तीन स्थानमा हिउँचितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र कुन–कुन स्थानमा कतिको संख्यामा हिउँचितुवा छन्भने यकिन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो । हिउँचितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने गरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको हो ।

एक्याप लोमान्थाङले हिउँचितुवा अनुगमनका लागि गत हप्ता मुस्ताङको एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँचितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि अध्ययन सुरु गरेको उल्लेख गरे । उनले पारस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्याउने हिमालकी रानी हिउँचितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालन व्यवसायलाई एकैसाथ अघि बढाउन दिगो रूपमा हिउँचितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने वेला आएको बताए ।

यसअघि एक्यापले घरपझोङ गाउँपालिका र बारागुङ क्षेत्रका यारुझो भ्युटावर, नमुखलेक, बारागुङ मुक्तिक्षेत्रको साङ्ता, तिरी र कागबेनीका साथै उपल्लो मुस्ताङमा ३१ वटा क्यामेरा जडान गरी हिउँचितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो । मुस्ताङमा हिउँचितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लभ जीवको आहारा एवं आनीबानीको विज्ञहरूले विश्लेषण गर्ने जनाएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँचितुवाको आहारा नाउर बस्ती र पाखोमा झर्न थालेका छन् । हिउँचितुवा आहार नाउरलाई पछ्याउँदै मानवबस्तीसम्म पुग्ने गरेका विज्ञहरूले बताएका छन् ।
 

सुझावित समाचार