जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुन्डीको १२ लाख रुपैयाँ नगदसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको हुन्डी कारोबारसँग सम्बन्धित अवैध रकमसहित दुईजनालाई पक्राउ गरेको हो ।
रामग्राम नगरपालिका– ५ बाइपासस्थित युपी ५६ एएच १२०४ नम्बरको मोटरसाइकलचालक पाल्हीनन्दन गाउँपालिका– २, भक्सिपुर बस्ने २२ वर्षीय खुससागर यादवको साथबाट ६ लाख रुपैयाँ र युपी ५६ एएच २५७३ नम्बरको मोटरसाइकलका चालक प्रतापपुर गाउँपालिका– ८, पिपरपाती बस्ने ३९ वर्षीय शिवेन्द्रप्रसाद बानियाँको साथबाट ६ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ बरामद गरिएको हो ।
प्रहरीले बरामद दुई थान मोटरसाइकल र नगद १२ लाख रुपैयाँसहित दुवैजनालाई नियन्त्रणमा लिई बुधबार नवलपरासी जिल्ला अदालतबाट हुन्डी कारोबारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।