काठमाडौं महानगरपालिकाले सरोज गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्वीकार गर्न नसकिने भन्दै निमित्तलाई आर्थिक अधिकार दिन संघीय सरकारसँग माग गरेको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरलाई पत्र पठाउँदै गुरागाईंलाई नै प्रमुख प्रशासकीयका रूपमा काम गर्न दिन भनेको थियो । लगत्तै महानगरले उनलाई स्वीकार गर्न नसकिने बताउँदै निमित्तलाई आर्थिक अधिकार दिन माग गरेको हो ।
महानगरले काठमाडौं टावरको विषयमा गुरागाईंले त्रुटिपूर्ण कार्य गरेको दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा उनलाई हाजिर गराउँदा असर पर्ने पत्रमा उल्लेख गरेको छ । ‘आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजनालगायत अन्य कार्यसमेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने भएकाले सो जिम्मा लिई वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनि २०८१/११/२२ मा प्रमुखस्तरीय निर्णय भएकोले सोअनुसार हुन अनुरोध गरिन्छ,’ महानगरले पत्रमा भनेको छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले महानगरपालिकाको पत्र आए पनि त्यसबारेमा कुनै छलफल नभएको बताए । ‘हामीले पत्र पठाएका थियौँ, हामीलाई पत्र पठाउनुभएको छ, तर यसबारे छलफल भएको छैन,’ उनले भने । सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकाले आरोप लगाएजस्तो गुरागाईंको गल्ती नभएको र छानबिन समितिले पनि दोषी ठहर नगरेको भन्दै उनलाई नै काममा फर्किन निर्देशन दिएको छ ।