नेपाल एयरलाइन्ससँग ६ जहाज, चार ग्राउन्डेड

वायुसेवा निगम तीन महिनादेखि आन्तरिक उडानविहीन, अन्तर्राष्ट्रिय उडानतर्फ पनि खस्काउँदै देशको इज्जत

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल एयरलाइन्सका ग्राउन्डेड पाँच जहाजमध्ये बिहीबार एउटा न्यारोबडी मर्मत गरेर अन्तर्राष्ट्रिय उडानमा फर्केको छ । अझै चारवटा जहाज भने ग्राउन्डेड छन् ।

दुईवटा वाइबडीमध्ये ‘९एन–एलवाई’ बेलायतबाट पार्टपुर्जा ल्याएर मर्मत गरेपछि बिहीबार काठमाडौं–दिल्ली उडान थालेको निगमका प्रवक्ताद्वय रमेश पौडेल र मनोजकुमार पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

ग्राउन्डेड अवस्थामा रहेका अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ९एन–एकेडब्लू र ९एन–एकेएक्स शनिबारबाट नियमित उडानमा फर्किने निगमको दाबी छ । तर, निगमले दाबी गरेजस्तो विमानहरू छिटै मर्मत गरेर उडान गर्न फर्कने गरेका छैनन् ।

चीनको सेङयाङमा ५सि–चेक सम्पन्न भए पनि एकेडब्लू विमान नियमानुसार गर्नुपर्ने कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आएर ल्याउन नसकिएको निगमको दाबी छ । यो विमानलाई पुनः उडान अनुमति लिएर शनिबार चीनबाट काठमाडौं ल्याई नियमित उडानमा लैजाने निगमले जनाएको छ । तर, समयमै मर्मतको भुक्तानी दिन नसक्दा जहाज ल्याउन नसकेको निगम स्रोतको भनाइ छ ।

चीनमा ५सि–चेकमा ढिलाइ तथा अन्य कारणबारे अध्ययन गरेर कमी–कमजोरी भेटिएमा कर्मचारी, मेन्टेनेन्स एन्ड रिपेयर अर्गनाइजेसन (एमआरओ) र एजेन्टसमेतलाई कानुनी कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्न ११ फागुनमा तीन सदस्यीय छानबिन समिति गठन गरेको निगमले जनाएको छ । 

निगमको अर्को न्यारोबडी एकेएक्कसको नोज ल्यान्डिङ गियरमा प्राविधिक समस्या देखिएर ग्राउन्डेड छ । निगमको विज्ञप्तिमा भनिएको छ, ‘ल्यान्डिङ गियर मर्मतका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी दिल्लीस्थित एयर इन्डिया इन्जिनियरिङ सर्भिसमा मर्मतका लागि लैजाने योजना छ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट काठमाडौं–दिल्ली ‘फेरि फ्लाइट’को अनुमति प्राप्त हुनेबित्तिकै मर्मतका लागि दिल्लीतर्फ लैजाने र आवश्यक मर्मतपश्चात् शनिबारदेखि नियमित उडानमा रहनेछ ।’

निगमले आन्तरिक उडान गर्ने एउटा ट्विनअटर ९एन–एबियूमा आवश्यक इन्जिन इन्स्टलेसन गरेर २० फागुनबाट नियमित उडानमा जाने दाबी गरेको छ । त्यसको अर्को साता दोस्रो ट्विनअटर विमान ९एन–एबिटीको पनि इन्जिन जडान कार्य सकेर नियमित उडान सञ्चालन गर्ने निगमले जनाएको छ । यी दुवै जहाज इन्जिनको उडान आवर सकिएर ग्राउन्डेड गरिएको हो । 

ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड छन् । उडानमा रहेका दुवै जहाज एकसाथ ग्राउन्डेड हुँदा निगमको आन्तरिक उडान महिनौँदेखि ठप्प छ । व्यवस्थापन नेतृत्वले समयमै भाडाको इन्जिन जोहो गर्न तथा बिग्रिएको इन्जिन मर्मतमा हेलचेक्र्याइँ गर्दा निगम आन्तरिक उडानविहीन बन्न पुगेको हो । 

६ वटा जहाजको अवस्था
- वाइडबडी ९एन–एएलवाईको बेलायतबाट पार्टपुर्जा ल्याई मर्मत गरेर बिहीबारदेखि उडान सुरु
- न्यारोबडी ९एन–एकेडब्लू चीनमा मर्मत हुँदै
- न्यारोबडी ९एन–एकेएक्सको नोड ल्यान्डिङ गियर बिग्रेर बसेको छ
- ट्विनअटर ९एन–एबियूको इन्जिन बिग्रेको छ 
- ट्विनअटर ९एन–एबिटीको इन्जिन मर्मत भर्खरै सकियो
- वाइडबडी ९एन–एएलजेड मात्रै नियमित उडानमा 

सुझावित समाचार