सन् २००२ : भारतीय राज्य गुजरातको गोदरामा हिन्दु तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको मृत्यु भयो । घटनाको अनुसन्धानका लागि गुजरात सरकारले गठन गरेको आयोगले मुस्लिम समूहले आगो लगाएको बताएको थियो भने अर्को आयोगले रेलमा दुर्घटनावश आगो फैलिएको औँल्याएको छ । आगजनीको प्रतिक्रियामा उठेको मुस्लिमलक्षित साम्प्रदायिक दंगामा करिब हजारको ज्यान गयो ।
सन् १८०१ : अमेरिकाको राजधानी वासिंटन डिसीलाई देशको संघीय सरकारको मातहतमा राख्ने विधेयक पारित भयो ।
सन् १८४४ : डोमिनिकन रिपब्लिकले छिमेकी हैटीबाट स्वतन्त्रता हासिल गर्यो ।
सन् १८६० : अब्राहम लिंकनले ‘कुपर युनियन’को चर्चित भाषण आजै दिएका थिए । यही भाषणले सो वर्षको अन्त्यमा भएको उनको जितलाई प्रेरित गरेको केही इतिहासकार दाबी गर्छन् ।
सन् १९०० : विभिन्न ट्रेड युनियन र ‘इन्डिपेन्डेन्ट लेबर पार्टी’ले लन्डनमा आजकै दिन संयुक्त भेला आयोजना गरे । त्यहीँ लेबर रिप्रिजेन्टेटिभ कमिटी गठन भयो । कमिटी ६ वर्षपछि बेलायतको प्रमुख दल लेबरमा विकसित भयो ।
सन् १९३३ : जर्मनीको संसद् भवन ‘राइसट्याक’ आगजनीले ध्वस्त भयो । हिटलर चान्सलर बनेको चार हप्तापछि भएको यस आगजनी कम्युनिस्टले लगाएको आरोपमा उनीहरूमाथि दमन सुरु भयो । विभिन्न नागरिक अधिकार कटौती गरिए । इतिहासकार सो आगजनी नाजीले गरेको बताउँछन् ।
सन् १९५१ : अमेरिकाका राष्ट्रपतिको कार्यकाल दुई कार्यकालमा सीमित गर्नेसम्बन्धी संविधानको २२औँ अनुमोदन भयो ।
सन् २०१२ : विकिलिक्सले निजी गुप्तचर कम्पनी ‘स्टार्टफोर’का झन्डै ५० लाख इमेल सार्वजनिक गरिदियो ।
सन् २०१४ : रुसी फौज रुस समर्थित समूहलाई सहयोग गर्न भन्दै क्रिमिया प्रवेश गर्यो ।
सन् २०१९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच हनोईमा दोस्रोपटक भेटवार्ता भयो ।