इजरायलले गत हप्ता चारजना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६ सय कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सहमतिपश्चात् गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ ।
प्यालेस्टाइनी लडाकु समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व मामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका छन् ।
‘हामीले धेरै प्रगति गरिरहेका छौँ । इजरायलले अहिले एउटा टोली पठाउँदै छ,’ विटकोफले अमेरिकी यहुदी समितिका लागि आयोजित एक कार्यक्रममा भने । युद्धविरामको पहिलो चरण शनिबार सकिँदै छ, तर फेब्रुअरीको सुरुमा सुरु हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता सुरु भएको छैन ।
हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ । समूहले आइतबार इजरायलले ६ सय प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठहर्याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’को रूपमा वर्णन गरिएको छ । रासस/एएफपी