महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंमा आदियोगी महादेवको रथयात्रा सुरु भएको छ । टोखा नगरपालिका– ५ का वडाध्यक्ष मदन गुरुङले सद्गुरु सन्निधि, वसुन्धरामा सात फिट अग्लो आदियोगी महादेवको आरती गरेपश्चात् रथयात्रा सुरु भएको हो ।
सो रथयात्रा महाशिवरात्रिको अघिल्लो दिनसम्म जारी रहनेछ । हरेक दिन ईशा स्वयंसेवक र आदियोगी महादेवका भक्तहरू रथयात्रासँगै काठमाडौं उपत्यकाका सूर्यविनायक, डोलेश्वर, चाँगुनारायण, भक्तपुर, दक्षिणकाली, पाटन, पशुपतिनाथ, स्वयम्भूनाथलगायका विभिन्न स्थानमा पुग्नेछन् । यो सात फिट अग्लो आदियोगी महादेव चेन्नईबाट करिब दुई हजार पाँच सय किलोमिटरको यात्रा गरी काठमाडौं आइपुगेको बताइएको छ ।
यो रथयात्रा कोइम्बटुर र बैंगलोरमा रहेको एक सय १२ फिट अग्लो आदियोगीको दर्शनमा उपस्थित हुन नसक्ने सबैका लागि भएको बताइएको छ । कोइम्बटुरको ईशा योगकेन्द्रमा रहेको एक सय १२ फिट अग्लो आदियोगीको अनावरण सन् २०१७ मा महाशिवरात्रिको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । सद्गुरुका अनुसार योगमा शिवलाई भगवान्का रूपमा नहेरी आदियोगी अर्थात् पहिलो योगी अनि आदिगुरु अर्थात् पहिलो गुरुका रूपमा हेरिन्छ । मानवजातिका लागि आदियोगीको जुन योगदान छ, त्यसलाई जुनसुकै जाति, धर्म र लैंगिकताका मानिसले पहिचान गर्नुपर्छ ।