कानुन निर्माणमा संसद् नै अनिर्णयको बन्दी बन्ने हो भने संघीयता धरापमा पर्छ : विराजभक्त श्रेष्ठ

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संविधान निर्माणको नाै वर्ष बितिसक्दा पनि कानुन नबन्दा जनतामा नैराश्यता उत्पन्न भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले तीन वर्षभित्र बनिसक्नुपर्ने कानुन अझै नबन्नु राम्रो नभएको बताए।

‘संविधानले एकातिर मौलिक हकको कार्यान्वयन गर्ने ऐन संविधान लागू भएको मितिले तीन वर्षभित्र बनाइसक्नुपर्ने प्रावधान राखेको छ भने अर्कोतिर संविधानको मर्मको रूपमा रहेको ‘संघीयता’ कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरू समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति नै जनतामा एकप्रकारको नैराश्यता उत्पन्न हुन पुगेको छ,’ श्रेष्ठले भने।

सांसद श्रेष्ठले कानुन निर्माणको महत्त्वपूर्ण जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने संघीय संसद् नै कानुन निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपर्ने (राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको प्रतिवेदन, २०८१) बाध्यता आइपर्नु र आवश्यक कानुन निर्माणमा संसद् नै स्वयं अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्टको संकेत भएको बताए।

‘यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ,’ उनले भने। समयले अहिलेसम्म कसैलाई पनि नबक्सेको भन्दै श्रेष्ठले अब पनि बक्सने छैन भनेर ध्यानाकर्षण गराए।

सुझावित समाचार