तीनजना सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयमा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२०औँ बोर्ड बैठक बहिष्कार गरेका छन् । बैठक बहिष्कार गर्नेमा अञ्जन धमला, प्रकाशकुमार कुसारी र र जनकप्रसाद बर्तौला रहेका छन् ।
खेलकुदमन्त्री तेजुलाल चौधरीले बैठकको सुरुवातमै राखेपको कार्यकारी सदस्य नियुक्ति सम्बन्धमा छलफल नै नगरी भानुबहादुर चन्द र सुवर्ण श्रेष्ठको नाम प्रस्ताव गरेका थिए । त्यसपछि ती तीनजना सदस्यले बैठक बहिष्कार गर्दै बाहिरिए ।
मदन भण्डारी स्पोर्टस् फाउन्डेसनकी सुवर्णलाई एमालेले कार्यकारी सदस्यको रूपमा सिफारिस गरेको हो । यसअघि उनले बोर्ड सदस्यका रूपमा काम गरिसकेकी छिन् । उनी नेपाल हक्की संघको महासचिव हुन् ।
कांग्रेसबाट बोर्ड सदस्यमा नियुक्त भएका भानु पार्टी सभापति शेरबहादुर देउवानिकटका मानिन्छन् । उनी नेपाल तेक्वान्दो संघका उपाध्यक्ष पनि हुन् । ‘महत्वपूर्ण बैठकमा खेलकुदमन्त्री चौधरी र राखेप उपाध्यक्ष ध्रुव आचार्यले कार्यकारी सदस्यमा कांग्रेस–एमाले गठबन्धनको सरकार रहेकाले सुवर्ण र भानुको प्रस्ताव गर्नुभयो,’ बैठकमा सहभागी एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘छलफल नै नगरी एकैपटक कार्यकारी सदस्य नियुक्त गर्न खोज्दा तीनजना सदस्य बैठकबाट बाहिरिनुभयो ।’
मन्त्री चौधरीले सोमबारै आफू सञ्चालक भएको कुपन्डोलस्थित नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र कांग्रेसनिकट विदुर ढुंगानालाई राखेपको बोर्ड सदस्य बनाएपछि चर्को आलोचना सामना गरिरहेका छन् । राखेको १२०औँ बोर्ड बैठकमा सहभागी सदस्यहरूले पर्याप्त छलफल गरेर मात्र कार्यकारी सदस्य नियुक्त गर्नुपर्ने धारणा राखेका थिए । तर, खेलकुदमन्त्री र राखेपका उपाध्यक्षले गठबन्धन सरकारको सिफारिस भन्दै सुवर्ण र भानुलाई राखेपको कार्यकारी सदस्यमा नियुक्त गरेका बैठकमा सहभागी एक सदस्यले बताए ।
राष्ट्रिय खेलकुद विकास ऐन ०७७ को बुँदा १४ मा राखेपको कार्यकारी समिति सात सदस्यीय रहने उल्लेख छ । जसमा समान दुई पुरुष र महिला गरी चारजना मनोनीत हुने व्यवस्था छ । दुईजना राखेपले र दुईजना अध्यक्षको हैसियतले खेलकुदमन्त्रीले मनोनीत गर्न पाउँछन् । सदस्यसचिव कार्यकारी रहने समितिमा राखेपका प्रशासन विभाग प्रमुख र मन्त्रालयको खेलकुद महाशाखा प्रमुख पदेन सदस्य रहने व्यवस्था ऐनले गरेको छ ।
एजेन्डाकै विरोध
मन्त्रालयमा भएको बैठकमा मन्त्रीले प्रस्तुत गरेका एजेन्डामाथि अन्य सदस्यहरूले पनि विरोध जनाएका छन् । असहमति जनाउनेमा एमाले निकटकी नन्दा बस्याल, विश्वविद्यालयबाट प्रतिनिधित्व गरेका सदस्य डा. मधुसुदन सुवेदी विना श्रेष्ठ र अञ्जना श्रेष्ठ रहेका छन् । मन्त्री चौधरीले बैठक आगामी २३ देखि ३० चैतसम्म कर्णाली प्रदेशमा हुने दसौँं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सम्बन्धमा बैठक डाकेका थिए ।