आफ्नै स्कुलकी प्रिन्सिपल प्रधानलाई राखेप सदस्य नियुक्त गरे खेलकुदमन्त्री चौधरीले

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

खेलकुदमन्त्री तेजुलाल चौधरीले आफैँ सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त गरेका छन् । उनले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधान र विदुर ढुंगानालाई सदस्य नियुक्त गरेका हुन् ।

यसअघि, चौधरीले गत ३१ भदौमा प्रधानसहित सात सदस्यलाई नियुक्त गर्ने तयारी गरेका थिए । तर, नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि उनी पछि हटेका थिए ।  अहिले राखेपका सदस्य नियुक्त भएका ढुंगाना पनि कांग्रेस निकट हुन् । राखेपको संरक्षकमा प्रधानमन्त्री र अध्यक्षमा खेलकुदमन्त्री रहने व्यवस्था छ । मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा प्रधान र ढुंगानालाई स्वागत गरेका छन् । त्यससँगै राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि उनीहरूलाई स्वागत गरेका छन् ।

कार्यक्षमताका आधारमा नाइटिंगेलकी प्रिन्सिपल प्रधानलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको मन्त्री चौधरीले नयाँ पत्रिकालाई बताए । ‘तपाईंले नाम लिनु भएको व्यक्ति क्षमतावान् हुनुहुन्छ । उहाँले पहिला पनि खेलकुदमा काम गर्नुभएको थियो,’ उनले भने । प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनकी प्रमुख सदस्य हुन् । अदालत र सरकारको आदेशविपरीत निर्वाचन गराएर एनओसीमा लगातार तेस्रोपटक अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुँदा मन्त्री चौधरीले निर्वाचन प्रक्रियालाई अवैधानकि भनेका थिए । राखेपको ११९औँ बोर्ड बैठकमै एनओसीको निर्वाचन अवैधानिक बताएका चौधरीले अहिले एनओसीको स्पोटसर्् फर अल कमिसनकी सदस्य प्रधानलाई सहजै खेलकुदको कार्यकारी निकायमा प्रवेश गराएका छन् ।

नवननियुक्त सदस्य प्रधानसँग १३औँ दक्षिण एसियाली खेलकुदको समारोह समिति र एनओसीको विभिन्न कमिटीमा काम गरेको अनुभव भएको मन्त्री चौधरीले बताए । ‘प्रधानसँग १३औँ सागको समारोह समिति र ओलम्पिक कमिटीका विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ,’ उनले भने । स्कुलकै कारण पनि कुनै क्षमतावान् खेलाडीलाई रोक्न नहुने चौधरीले बताए । ‘कुनै क्षमतावान् खेलाडी नाइटिंगेल स्कुलमा पढिरहेका छन् भने मेरै कारणले उसलाई टिमबाट हटाउने कुरा हुँदैन नि,’ उनले भने । 

पाँच महिनाअघि पनि नियुक्त दिने तयारी
खेलकुद मन्त्रालय सम्हालेपछि चौधरीले ३१ भदौमा प्रधानसहित सात सदस्यलाई राखेपमा भिœयाउने तयारी गरेका थिए । उनले तयार गरेको सूचीमा प्रिन्सिपल र आफ्नै पिए लालबहादुर जिसी थिए । दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र थारू विद्यार्थी समाजका चन्द्रप्रसाद चौधरीलाई राखेपको बोर्ड सदस्यमा नियुक्ति दिने उनले तयारी गरेका थिए । तर, नयाँ पत्रिकाको समाचारको प्रभावपछि उनले तत्कालका लागि सबैको नियुक्ति प्रक्रिया नै रोके ।

राखेपमा एमाले र कांग्रेसको भागबन्डा
मन्त्री चौधरीले राखेपमा एमाले र कांग्रेसको भागबन्डामा ८ सदस्य नियुक्त गरेका थिए । ११ पुसमा दुवै पार्टीले समान चार व्यक्तिलाई राखेपको सदस्यका रूपमा पठाएका थिए । चौधरीले कांग्रेस पृष्ठभूमिका भानबहादुर चन्द, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराईलाई नियुक्ति दिएका छन् । भानबहादुर कांग्रेस सभापति शेरबहादुर देउवाका भान्जा हुन् । एमालेनिकट नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, हिमाल श्रेष्ठ र जगतसिंह धामी राखेपको बोर्ड सदस्यभित्र छिरेका थिए ।

सुझावित समाचार