कलाकार तथा अभियन्ता आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। पशुपति विकास कोषमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी उनीविरुद्ध मुद्दा चलाएको थियो। सो मुद्दामा सोमबार १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो। कोषले करार थप नगरेका कर्मचारीको विषयलाई लिएर तामाङले कार्यालयमा गएर गालीगलौच गरेकी थिइन्।
काठमाडौंमा छुटेपछि उनलाई भक्तपुर प्रहरीमा बुझाउने तयारी छ । केही समयअघि भक्तपुरको साँगास्थित झोलुङे पुलमा सर्वसाधरणसँग शुल्क उठाएको विवादमा उनले टिकट काउन्टरमा तोडफोड गरेकी थिइन्। जून घटनामा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएकाले सो मुद्दामा अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानले बताए। ‘जिल्ला अदालत, भक्तपुरले आपराधिक उपद्रव मुद्दामा पक्राउ गर्न अनुमति दिइसकेको छ,’ डिएसपी नेउपानेले भने,‘काठमाडौंमा छुटेमा हाम्रोमा पठाउन हामीले यसअघि नै पत्राचार गरिसकेका छौ।’
अनुगमनका नाममा तामाङले अराजक शैली अपनाउने गरेकोमा आलोचना बढेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो। तामाङले माफी मागेपनि एकपछि अर्काे मुद्दा चलाउन लागिएकोमा उनका सहयोगीले भने प्रहरीको आलोचना गरेका छन्।