विश्वकै अग्रणी अमेरिकी ट्राभल गाइडेन्स प्लाटफर्म ट्रिप एडभाइजरको ‘सोलो ट्राभल डेस्टिनेसन्स’ र ‘कल्चरल डेस्टिनेसन्स’ क्याटेगोरीको शीर्ष गन्तव्य सूचीमा काठमाडौं परेको छ । ‘ट्रिप एडभाइजरको सूचीमा काठमाडौं विश्वकै सोलो ट्राभल (एकल भ्रमण) डेस्टिनेसन्समा दोस्रो र ‘कल्चरल डेस्टिनेसन्स’मा सातौँ स्थानमा छ ।
विश्वभरका यात्रीहरूको अनुभव र तिनका सिफारिसका आधारमा ट्रिप एडभाइजरले सार्वजनिक गरेको सन् २०२५ को ‘मस्ट–भिजिटेड डेस्टिनेसन्स’मा काठमाडौं विश्वका उत्कृष्ट गन्तव्यहरूको सूचीमा परेको हो । एकल यात्रा गर्न मन पराउने पर्यटकहरूले सिफारिस गरेको सोलो ट्राभल डेस्टिनेसन्सको पहिलो नम्बरमा दक्षिण कोरियाको सिओल सहर छ । यो सूचीमा परेका विश्वका १० उत्कृष्ट गन्तव्य एकल यात्रा गर्ने पर्यटकले सबैभन्दा धेरै मन पराएका ठाउँ हुन् ।
मणिराज लामिछाने, निर्देशक, पर्यटन बोर्ड
ट्रिप एडभाइजरको लोकप्रिय सोलो ट्राभल डेस्टिनेसन्समा पर्नु भनेको नेपाल सुरक्षित गन्तव्य भएको सन्देश पनि हो । कल्चरल डेस्टिनेसन्स क्याटेगोरीमा पनि नेपाल विश्वको सातौँ रोजाइको गन्तव्य बनेको छ । यसले नेपाली पर्यटनको विश्वभर सित्तैमा प्रचार भइरहेको छ ।
‘सोलो ट्राभल डेस्टिनेसन्स’मा काठमाडौं विश्वकै शीर्ष गन्तव्यमा पर्नु देशको पर्यटनका लागि सुखद रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । ‘ट्रिप एडभाइजरको सोलो ट्राभल डेस्टिनेसन्स क्याटेगोरीमा काठमाडौं दोस्रो शीर्ष स्थानमा परेको छ । एकल यात्रा गर्ने विश्वभरका यात्रीहरूले नेपाललाई रुचाएको देखिन्छ । पछिल्लो समय सोलो ट्राभल गर्ने पनि बढिरहेका छन्, त्यसको लाभ नेपालले लिन सक्छ,’ उनले भने, ‘लोकप्रिय सोलो ट्राभल डेस्टिनेसन्समा पर्नु भनेको नेपाल सुरक्षित गन्तव्य भएको सन्देश पनि हो । नेपाल कल्चरल डेस्टिनेसन्स क्याटेगोरीमा विश्वको सातौँ रोजाइको गन्तव्य बनेको छ । यसले नेपाली पर्यटनको विश्वभर सित्तैमा प्रचार भइरहेको छ ।’
‘कल्चरल डेस्टिनेसन्स’को पहिलो नम्बरमा इन्डोनेसियाको बाली छ भने भियतनामको हनोई दोस्रो र लन्डन तेस्रोमा छ । काठमाडौं यो सूचीको सातौँ स्थानमा रहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली आठौँ स्थानमा छ । जीवन्त कला र सम्पदाले धनी यी गन्तव्यले विश्वभरका यात्रुलाई लोभ्याउने गर्छन् ।
‘ट्रिप एडभाइजर’को टप डेस्टिनेसन्स श्रेणीको पहिलो स्थानमा यसपटक बेलायती सहर लन्डन परेको छ । सन् २०२२ यता यो सूचीको पहिलो नम्बरमा दुबई थियो । दुबई अहिले यो सूचीको दोस्रो स्थानमा ओर्लिएको छ । कला, सम्पदाका साथै परिकारहरूका लागि अब्बल लन्डन सहर ‘फुड डेस्टिनेसन्स’को दोस्रो र ‘कल्चरल डेस्टिनेसन्स’मा तेस्रो स्थानमा परेको छ ।
सन् २०२५ को ‘ट्रेन्डिङ डेस्टिनेसन्स’मा जापानको ओसाका सहर पहिलो स्थानमा छ । ‘द नेसन्स किचेन’ भनेर चिनिने ओसाका खाना, सपिङ र रात्रिजीवनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । ‘हनिुमन डेस्टिनेसन्स’का लागि मौरिसस पहिलो नम्बरमा छ भने इन्डोनेसियाको बाली दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छन् । खानाका पारखी यात्रीले ‘फुड डेस्टिनेसन्स’को पहिलो नम्बरमा इटालीको रोम सहरलाई सिफारिस गरेका छन् ।
विश्वभरका वास्तविक यात्रीहरूले ट्रिप एडभाइजरमा आफूलाई मन परेको गन्तव्य र त्यहाँको विशेषताबारे रिभ्यु लेख्ने गर्छन् । तिनै रिभ्युको आधारमा ट्रिप एडभाइजरले विभिन्न क्याटेगोरीमा पर्यटकले मन पराएका गन्तव्यको सूची सार्वजनिक गर्दै आएको छ ।
ट्रिप एडभाइजरको ‘ट्राभलर्स च्वाइस अवार्डस् बेस्ट अफ द बेस्ट डेस्टिनेसन्स’मा टप डेस्टिनेसन्स, ट्रेन्डिङ डेस्टिनेसन्स, कल्चर डेस्टिनेसन्स, फुड डेस्टिनेसन्स र हनिमुन डेस्टिनेसन्ससहित सात श्रेणी छन् । ‘सोलो ट्राभल डेस्टिनेसन्स’ ट्रिप एडभाइजरले यो वर्षबाट थपेको नयाँ श्रेणी हो । अर्काे ‘टप डेस्टिनेसन्स अफ द लास्ट २५ इयर्स’ पनि नयाँ क्याटेगोरी रहेको बताइएको छ ।
‘ट्रिप एडभाइजर्स’ले पछिल्लो वर्षभर विश्वभरका यात्रीले दिएका सबैभन्दा धेरै रेटिङ र रिभ्यु गरेका गन्तव्यलाई विभिन्न श्रेणीमा सूचीकृत गर्छ । यो र्याङकिङले वास्तविक पर्यटकले सिफारिस गरेका गन्तव्यबारे प्रकाश पार्छ ।
ट्रिप एडभाइजरलाई हरेक महिना विश्वभरका करोडौँ यात्रीले ट्राभल गाइडेन्स (यात्रा सल्लाह)का रूपमा लिने गर्छन् । उनीहरूले गन्तव्य, बस्ने स्थानका साथै कहाँ के खाने भन्ने कुराको निर्णय गर्न ट्रिप एडभाइजर्सको वेबसाइट र एप प्रयोग गर्ने गर्छन् । ट्रिप एडभाइजरले पहिल्यै भ्रमण गरेका यात्रीको रिभ्युका आधारमा गन्तव्यको मार्गनिर्देश गर्छ ।
‘ट्रिप एडभाइजर’को ट्राभलर्स च्वाइस अवार्डस्ले विश्वभरका यात्रीलाई मन परेका र तिनले सिफारिस गरेका गन्तव्य, होटेल, रेस्टुरेन्ट, खानाका परिकार र अन्य गतिविधिलगायतको जानकारी दिन्छ । यसले विश्वभरका यात्रुलाई यात्रामा सहजीकरण गरिदिने गर्छ । साथै यसबाट यात्रा प्याकेज, होटेल र फ्लाइटलगायत बुकिङ पनि गर्न सकिन्छ ।
यसअघि अमेरिकाको चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँको सूचीमा नवौँ स्थानमा राखेको छ । हजारौँ वर्षअघि मायादेवी नामकी रानीले सिद्धार्थ गौतम बुद्धलाई जन्म दिएको लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्र (तीर्थस्थल) भएको र नेपालकै प्राचीन पुराताŒिवक स्थल भएको न्युयोर्क टाइम्सले लेखेको छ ।
ट्रिप एडभाइजरको लोकप्रिय सोलो ट्राभल डेस्टिनेसन्समा पर्नु भनेको नेपाल सुरक्षित गन्तव्य भएको सन्देश पनि हो । कल्चरल डेस्टिनेसन्स क्याटेगोरीमा पनि नेपाल विश्वको सातौँ रोजाइको गन्तव्य बनेको छ । यसले नेपाली पर्यटनको विश्वभर सित्तैमा प्रचार भइरहेको छ ।