विभिन्न माग राख्दै झन्डै दुई सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय र तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाबिच समझदारी भएको छ । पुस १६ देखि आन्दोलनमा उत्रिएका आयोजनाको अडिट टु निर्माण क्षेत्रका स्थानीय र आयोजनाबिच १३ बुँदे सहमति भएसँगै आयोजनामा उत्पन्न विवाद टुंगिएको हो ।
आयोजनाको अडिट टु निर्माण हुने माहुरेका बासिन्दाले संघर्ष समिति नै बनाएर लगातार आन्दोलन गरेपछि आयोजनाले उनीहरूका माग पूरा गर्ने समझदारी गरेर सम्झौता गरेपछि आइतबारबाट अडिट टुको काम सञ्चालन भएको छ ।
शनिबार बेलुका संघर्ष समितिका संयोजक सुक्सिंह तामाङ, सहसंयोजक अमृतकुमार आचार्य, उदयबहादुर खड्का र आयोजनाको तर्फबाट उपप्रबन्धक हेमन्त भट्ट र इन्जिनियर नवीन न्यौपानेले १३बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपत्रमा रोहवर तथा साक्षीको रूपमा बिगु गाउँपालिका उपाध्यक्ष देविका थामीले समेत हस्ताक्षर गरेको संघर्ष समितिले जनाएको छ ।
सहमतिपत्रमा स्थानीयले अघि सारेका विभिन्न मागहरू आयोजनाले सम्बोधन गर्ने गरी विभिन्न विषयहरू समेटिएको आयोजनाले जनाएको छ । खासगरी स्थानीयलाई रोजगारी, सामाजिक क्षेत्रको बजेट प्रभावकारी ढंगले सम्पादन गर्नेजस्ता विषयहरू सहमतिपत्रमा उल्लेख छन् ।

