ढोरपाटन सिकार आरक्षमा १० नाउर र पाँच झारलको सिकार

ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

यस वर्षको पहिलो सिकारयाममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एक मात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।

एउटा नाउरको सिकार गर्नका लागि अनुमतिप्राप्त सिकारी आउन नपाएको र एकजना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।

जंगली जनावर नाउर र झारलको सिकार गर्न यसपटक अमेरिका, स्पेन, नेदरल्यान्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजस्व बुझाएरसमेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए ।

यस्तै, विदेशी सिकारीले तीनवटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बँदेलको सिकार अनुमति पाएका सिकारीले सिकार नै नगरेको आरक्षको भनाइ छ ।

ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाएको हुन्छ ।  

ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बँदेल सिकार गर्न विदेशीले रुचि नदेखाएको बताए । बँदेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरे पनि आवेदन नपरेको उनको भनाइ छ ।

उनका अनुसार पहिलो सिकारयाममा ग्लोबल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौं र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो ।

सिकार आरक्ष क्षेत्रलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकाेप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।

साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जंगलमै समय बिताउने गर्दछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम १८ लाखसम्म राजस्व संकलन भएको आरक्ष कार्यालयको भनाइ छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना सिकारीले करिब २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् । ०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।     

सुझावित समाचार