समग्र पर्यटक आगमन बढ्दा नेपालमा हिमाल आरोही भने घटेका छन् । शरद्कालीन सिजनमा विभिन्न ४७ हिमाल आरोहणका लागि दुई हजार दुई सय ४५ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । गत वर्षको शरद् सिजनमा ५४ हिमाल आरोहण गर्न दुई हजार चार सय सात आरोहीले अनुमति लिएका थिए ।
यस वर्ष हिमाल आरोहीको संख्या सामान्य घटेको पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए । यस वर्षको शरद्कालीन आरोहण १६ मंसिरमा सम्पन्न भएको छ । तर, अझै सफल आरोहीहरूको पूरै तथ्यांक प्राप्त भने भइनसकेको उनको भनाइ छ । अहिलेसम्म पाँच सय ४३ पुरुष र ८२ महिला गरी ६ सय २५ आरोहीले सफल आरोहण गरेको विभागमा तथ्यांक उपलब्ध भएको छ । उनले भने, ‘अझै पूरै तथ्यांक प्राप्त भइसकेको छैन, सफल आरोहीको तथ्यांक संकलन जारी छ ।’ यस वर्ष ७३ देशबाट अनुमति लिएका कुल आरोहीमध्ये तीन सय एक महिला छन् ।
गत वर्षको शरद् सिजनमा आरोहण अनुमति लिएका २४ सय सात आरोहीमध्ये ८७ महिलासहित ११ सय ५८ आरोहीले सफल आरोहण गरेको विभागको तथ्यांक छ । यस वर्ष चुचुरो चुम्न सफल आरोहीहरूको संख्यासमेत घट्न सक्ने अनुमान छ ।
यस वर्ष आरोहीको संख्या घटे पनि रोयल्टी संकलन भने बढेको छ । गत वर्षको शरद् सिजनमा सात करोड ८५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । यस वर्ष सोही सिजनमा आठ करोड ६० लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार शरद् सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीहरू आठ पुगेको छ । कुम्भकर्णमा एक, धौलागिरिमा पाँच, लाङटाङ लिरुङमा एक आरोही र पान्ध्रा हिमालमा एक आरोहीको निधन भएको छ । धौलागिरि हिमालमा मृत्यु भएका पाँचजना रसियन नागरिक र लाङटाङ लिरुङमा मृत्यु भएका एकजना आरोहीको शव सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाइसकेको विभागले जनाएको छ ।