बालाचतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरेको कोषले जनाएको छ ।
भुवनेश्वरीबाट वनकालीतर्फको भागमा मात्र पसल राख्न दिने कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कारबाही गरिने उनले जानकारी दिए । बालाचतुर्दशीका लागि नेपाली सेनाले पाँचवटा ठुला पाल उपलब्ध गराएको छ । यस अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ ।
दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइनेछ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार एक सयका दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।