भैरहवामा आज वाइडबडीको पहिलो व्यावसायिक उडान हुँदै

कतार एयरवेजले आज ३०५ सिट क्षमताको एयरबस ३३० विमानबाट भैरहवामा उडान गर्दै

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पहिलोपटक वाइडबडी विमानले व्यावसायिक उडान गर्ने भएको छ । कतार एयरवेजले आज (मंगलबार) ३०५ सिट क्षमताको वाइडबडी विमान एयरबस ३३० बाट भैरहवामा उडान गर्न लागेको हो ।

कतार एयरवेजले वाइडबडीबाट दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एउटा उडान गर्ने भैरहवा विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए।  दोहाबाट आएको कतारको वाइडबडी विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने तालिका छ। यो जहाज दिउँसो ४:४५ बजे काठमाडौंका लागि उड्नेछ भने काठमाडौंबाट ६:५५ बजे दोहाका लागि उडान गर्ने तालिका छ ।

कतारले १५ मंसिरसम्म भैरहवा उडानको अनुमति लिएको छ । अहिलेलाई कतारले भैरहवामा कुल १९ फ्लाइट गर्ने अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। कतार थपिएसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेका छन् । अब भैरहवामा सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान हुने महाप्रबन्धक तिवारीले बताए । भैरहवामा थाई एयर एसिया, जजिरा, फ्लाई दुबई, नेपाल वायुसेवा निगम (नेवानि) र कतारले उडान सुरु गरेका हुन्।

१८ कात्तिकदेखि थाई एयर एसिया र २४ कात्तिकदेखि जजिरा, फ्लाई दुबई र नेवानिले उडान सुरु गरिसकेका छन् । आज २७ कात्तिकदेखि कतार एयरवेजले पनि उडान सुरु गर्दै छ। कतारबाहेकका वायुसेवा कम्पनीले भने न्यारोबडीबाट उडान भर्न थालेका छन् ।

कतार एयरवेज र फ्लाई दुबईले सातामा सातै दिन उडान भर्नेछन् भने जजिराले सातामा तीन, नेवानिले सातामा पाँच र थाई एयर एसियाले सातामा दुई उडान सुरु गरेका छन्। अब भैरहवामा सातामा सातै दिन उडान हुने भएको छ। क्यानका अनुसार आइतबार, बुधबार शुक्रबार र शनिबार तीन–तीन उडान हुनेछन् भने सोमबार, मंगलबार र बुधबार चार–चार उडान हुनेछन् ।

सुझावित समाचार