गाजा क्षेत्रको जनसंहारविरुद्ध काठमाडौंमा प्रदर्शन गरिने

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

राजनीतिक दलदेखि पेसागत संगठन, मजदुर, युवा–विद्यार्थी, नागरिक अगुवा, लेखक, कलाकारले गाजा क्षेत्रको जनसंहारविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । इजरायलले गाजा क्षेत्रमा मच्चाएको जनसंहारविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै लाजिम्पाटस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने संयुक्त अभियानको संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।

सोमबार दिउँसो १ बजे शंखधर पार्कबाट संयुक्त विरोध प्रदर्शन गर्दै लाजिम्पाटस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने उनले बताए । ‘०६३ पछि पहिलोपटक नेपालका १० भन्दा ज्यादा ठूला–साना राजनीतिक दलहरू, बृहत् नागरिक आन्दोलन, पेसागत संगठन, मजदुर संघ, विद्यार्थी र युवा संगठन, संस्थाहरू, सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति, लेखक–कलाकार एकजुट भएर शंखधर पार्कबाट संयुक्त विरोध प्रदर्शन गर्दै लाजिम्पाटस्थित इजरायली दूतावासमा ज्ञापनपत्र दिनेछौँ,’ उनले भने । 

गाजा क्षेत्रमा इजरायलले इतिहासमा नभएको चरित्रको जनसंहार मच्चाइरहेको उनले बताए । ‘एक वर्षयता ४४ हजारभन्दा ज्यादा प्यालिस्टिनीको हत्या भइसकेको छ । जसमध्ये झन्डै ७० प्रतिशत महिला र केटाकेटी छन् । हरेक घण्टा १५ जनाको हिसाबले प्यालिस्टिनीको हत्या भइरहेको छ । एक वर्षमा गाजा क्षेत्रका ८० प्रतिशत विद्यालय र झन्डै आधा घर तथा अस्पताल ध्वस्त भएको स्थिति छ । त्यस क्षेत्रमा लगाइएको खानेकुरा र जीवनरक्षक औषधिसमेतको कडा नाकाबन्दीका कारण अहिले गाजा क्षेत्रमा बम वर्षाबाट भन्दा ज्यादा नाकाबन्दीबाट धेरै सर्वसाधारण मानिस मर्ने स्थिति आएको छ,’ श्रेष्ठले भने ।

सुझावित समाचार