अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेकाे छ । बोल्ट्सका अर्का दुई विदेशी खेलाडीमा जोसुआ ट्रम्प र मोहम्मद मोहसनी छन्। लाहिरूजस्तै ट्रम्प र मोहसिन पनि अमेरिकी बेस क्रिकेटर हुन् ।
एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित रहेका छन्। नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारबाट खेलेका थिए। अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए। उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए। मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।