संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्ज्याङमा जारी नवौँ संस्करणको अरुणभ्याली फुटबल प्रतियोगितामा लोहोरुङ र पञ्चकन्या क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्।
बिहीबार भएको पहिलो खेलमा लोहोरुङ क्लबले मकालु फ्रेन्ड्सलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्याे। लोहोरुङ क्लबले लगातार ६ गोल गर्दा मकालु फ्रेन्ड्सले १ गोल मात्रै फर्कायो। आजै भएको दोस्रो खेलमा पञ्चकन्या क्लबले गाउँले फुटबल क्लबलाई १–० गोल अन्तरले हरायो।
योसँगै बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो चरणका चार खेल सकिएको छ। दोस्रो चरणमा सेकाहा क्लब, सभापोखरी, लोहोरुङ र पञ्चकन्या प्रवेश गरेका छन्। शुक्रबार दोस्रो चरणको पहिलो खेलमा सेकाहा क्लब र आयोजक एडभान्स क्लबबिच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, लोहोरुङ र चुलाचुली क्लब धनकुटाबिच प्रतिस्पर्धा हुँदा सभापोखरी र पाथीभरा क्लब सुनसरी भिड्नेछन्। त्यसपछि पञ्चकन्या र बेलबारी क्लब मोरङबिचको खेल हुनेछ।
‘सामाजिक सदभावका लागि युवा एकता : विकृति–विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नारासहित एडभान्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको विजेताले नगद रु. दुई लाख तथा उपविजेताले एक लाख प्राप्त गर्नेछन्। सेमिफाइनलिस्ट दुई टिमले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।