सन् २००२ : मुस्लिमबहुल चेचेन्या क्षेत्र रुसबाट अलग गर्नुपर्ने माग राखेर लडिरहेका विद्रोहीले मस्कोस्थित ‘हाउस अफ कल्थर थियटर’लाई घेरा हालेर झन्डै ९०० मानिसलाई बन्धक बनाए । चार दिनपछि रुसी सेना बलजफ्ती थियटर पसेर ४० बन्धकलाई मारेपछि यो प्रकरण अन्त्य भयो । सैन्य अभियानका क्रममा १३२ बन्धक पनि मारिएका थिए ।
इसापूर्व ४२ : रोमन गणतान्त्रिक गृहयुद्ध : दोस्रो फिलिपी युद्धमा ब्रुटुसको सेना मार्क एन्टोनी र अक्टाभियनका सेनासँग नराम्ररी पराजित भयो । हारपछि ब्रुटुसले आत्महत्या गरे ।
सन् १८१२ : फ्रान्सेली बादशाह नेपोलियन बोनापार्टविरुद्ध असफल कु प्रयास भयो । कु प्रयास नेपोलियनबाट बर्खास्त भएका जनरल क्लाउड–फ्रान्वा द म्यालेटले गरेका थिए, जसलाई पछि पक्राउ गरेर मृत्युदण्ड दिइयो ।
सन् १९१५ : महिलाहरूले मतदानको अधिकार पाउनुपर्ने पक्षमा झन्डै २५ हजार मानिस न्युयोर्क सहरको फिफ्थ एभेन्युमा प्रदर्शनमा निस्किए । प्रदर्शनको नेतृत्व ‘लिग अफ विमिन भोटर्स’का संस्थापक डा. अन्ना स र क्यारी च्यापम्यान क्याटले गरेका थिए ।
सन् १९४४ : जनरल एनवर होक्जा एल्बानियाको अन्तरिम प्रधानमन्त्री बने ।
सन् २००१ : एप्पल कम्पनीले ‘आइपोड’ सार्वजनिक गर्यो ।
सन् २०२२ : बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय जनकंग्रेसले सी जिनपिङ तेस्रोपटक चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चुन्यो ।