जैविक मल उत्पादनका लागि बागफाँटा त्रिवेणीधाममा गौशाला

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका बागफाँटा त्रिवेणीधाममा गौशाला निर्माण गर्न लागिएको छ। भीमदत्त नगरपालिका– १९ बागफाँटा त्रिवेणीधाममा गौशाला निर्माण गर्न लागिएको हो। भीमदत्त नगरपालिका र सिद्धबैजनाथ त्रिवेणीधामले छाडा पशु चौपाया व्यवस्थापन गर्दै प्रांगारिक मल उत्पादनका लागि गौशाला निर्माण गर्न लागेको हो । 

सिद्धबैजनाथ त्रिवेणीधामका अध्यक्ष मिलन सिंहले छाडा पशु चौपाया व्यवस्थापन र उक्त पशु चौपायाको मूत्र गोबरमार्फत गँड्यौला पालेर जैविक मल उत्पादन गर्ने बताए। ‘एकातिर हामी छाडिएका पशु चौपाया व्यवस्थापन गर्छौँ, अर्कातिर गोबर मलबाट गँड्यौला पालेर जैविक मल उत्पादन गरेर किसानलाई वितरण गर्छौँ,’ उनले भने, ‘यो हाम्रो बहुउपोगी योजना छ, सरकारले साथ दिनुपर्छ ।’ अध्यक्ष सिंहले पहिलो चरणमा झन्डै दुई सय क्षमता गाईगोरु पालिने बताए। 

यस अघिदेखि नै उक्त क्षेत्रमा  त्रिवेणीधामको वृद्धि विकासका लागि गौशाला निर्माण गरिएको थियो । ‘हामीले त्रिवेणीधामको वृद्धि विकासका लागि गौशाला निर्माण गरेका छौँ,’ उनले भने, ‘यसपछि यज्ञशाला, गुरुकुल शिक्षादेखि त्रिवेणीलाई धार्मिक तीर्थाटन बनाउँछौँ।’ 

अध्यक्ष सिंहले उत्तरी चुरे बेदकोट, लिंगासहित झिलमिला ताल क्षेत्रबाट बगेर आउने नदीको संगमस्थल त्रिवेणी धार्मिक, ऐतिहासिक रूपमा महत्त्व भएकाले यसको विकासका लागि नागरिक जागेका वेला सरकारले समेत ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष सिंहले चौधर नदीको तटीय क्षेत्रमा रहेको सिद्धबैजनाथ त्रिवेणीधाम कटानीको उच्च जोखिममा भएकाले तटबन्ध निर्माणका लागि सरकारले चासो दिनुपर्ने बताए ।

स्थानीय जानकार अशोकदत्त भट्टले ०१२ सालदेखि सिद्धबैजनाथ त्रिवेणीधाम चलनचल्तीमा आएको बताए । उनले ऐतिहासिक धामको विकासका लागि राज्यका निकाय जिम्मेवार बन्नुपर्ने बताए । बिहीबार एक कार्यक्रमबिच भीमदत्त नगरकी उपप्रमुख नीलम लेखकले उक्त गौशाला गँड्यौला मल उत्पादन गर्ने स्थलको शिलान्यास गर्दै पालिकाबाट आवश्यक सबै सहयोग दिने बताइन् । 

सिद्धबैजनाथ त्रिवेणीधामको वृद्धि विकास र गौशाला सञ्चालनमा पालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छाडा पशु चौपाया व्यवस्थापन गर्ने बताइन् । उपप्रमुख लेखकले सरकारले गर्न नसक्ने काम धाम समितिले गरेको बताउँदै उनले छाडा पशु चौपाया व्यवस्थापनका साथै उनीहरूबाट सक्दो लाभ लिनुपर्ने बताइन् । 

उपप्रमुख लेखकले पालिकाबाट एक वडा एक गौशाला बनाउने योजना कार्यान्वयनका लागि बागफाँटा त्रिवेणीधाममा निर्माण भएको गौशालाको वृद्धि विकासका लागि बजेटलगायतका योजना कार्यान्वयन गर्ने आश्वासन दिइन् ।
 

सुझावित समाचार