श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संविधानले राष्ट्रपतिलाई दिएको अधिकार प्रयोग गर्दै संसद् विघटन गरेका छन् । श्रीलंकाली मिडियाका अनुसार दिसानायकेले देशको संविधानको धारा ७० र संसदीय निर्वाचन ऐन, १९८१ खण्ड १० अनुरुप संसद् भंग गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेका हुन् ।
श्रीलंकामा संसद्को निर्वाचनको अढाई वर्ष पूरा भएपछि देशका राष्ट्रपतिले जुनसुकै वेला नयाँ निर्वाचनका लागि संसद् विघटन गर्न सक्छन् । अन्यथा, सन् २०२० अगस्टमा निर्वाचित वर्तमान संसद्को समयावधि सन् २०२५ अगस्टसम्म थियो ।
राष्ट्रपति दिसानायकेले नयाँ सांसदको निर्वाचनका लागि सन् २०२४ नोभेम्बर १४ मा मिति तय गरेका छन् । नयाँ संसद्को सेसन नोभेम्बर २१ बाट सुरु हुनेछ । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिसानायके निर्वाचित भएका थिए ।
वर्तमान सदस्यको २२५ सिटमध्ये दिसानायकेको गठबन्धन ‘नेसनल पिपुल्स पावर (एनपिपी)’सँग जम्मा तीनजना मात्र सांसद छन् । त्यसैले उनले आफ्नो शासन सञ्चालनमा सहज हुने गरी नयाँ निर्वाचनको प्रक्रिया सुरु गरेका छन् ।
राष्ट्रपति दिसानायकेले मंगलबार नै उनको दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री घोषणा गरेका थिए । अब निर्वाचन प्रक्रिया सुरु भएसँगै ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । निर्वाचनबाट आउने नयाँ संसद्को पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने तय भएको छ ।