राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको खेलकुद विकासका लागि आफ्नो साथ र शुभकामना सधैँ रहने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवासमा पौडेलले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का पदाधिकारी र एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डका विजेतालाई भेटेका हुन् । उनले एआइपिएसका पदाधिकारी र अवार्ड विजेता बधाई तथा शुभकामना पनि दिए ।
उनले भने, ‘एआइपिएस एसियाको कंग्रेस सफलतापूर्वक सम्पन्न गरी एसियाली खेलकुद पत्रकारको हकहितमा महत्वपूर्ण निर्णयसहित काठमाडौं घोषणापत्र जारी गर्नुभएकोमा तपाईहरू सबै बधाईका पात्र हुनुहुन्छ ।’
राष्ट्रपतिले एसियाली खेल पत्रकारको संगठन एआइपिएस एसियाको २५औँ कंग्रेस आयोजनाका लागि नेपाली भूमि छानेकोमा धन्यवाद व्यक्त गरे । कंग्रेसका लागि २८ देशका ८० प्रतिनिधि नेपालमा आएका थिए ।
उनले भर्खरै पलेशाले पारा ओलम्पिकमा कांस्य पदक जितेर नेपालको शिर उचो पारेको बताए । ‘नेपालको पहिचान सगरमाथाको देश र बुद्धको जन्मस्थलको रूपमा विश्वव्यापी छ । त्यतिमात्र होइन, नेपाल खेल र खेलाडीको देश पनि हो । भर्खरै तेक्वान्दोकी पलेशा गोवर्द्धनले पारा ओलम्पिकमा कांस्य पदक जितेर नेपालको शिर उचो पार्नुभएको छ ।’
उनले साहसिक खेल, हाइअल्टिच्युड खेल, अल्ट्रा दौडमा नेपालको सम्भावना उच्च रहेको उल्लेख गरे । त्यस्तै, सर्वोच्च शिखरको बेसक्याम्पमा हुने एभरेस्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाएको स्मरण गराउँदै नेपाल यस्ता साहसिक खेलको प्रचुर सम्भावना भएको देश रहेको बताउँदै विश्व खेलकुदमा सन्देश प्रसारित गराइदिन एसियाली खेलकुद पत्रकारलाई आग्रह गरे ।
त्यस्तै, राष्ट्रपतिले एआइपिएस एसियाको कंग्रेसको जस्तो महत्वपूर्ण कार्यक्रम आयोजनाका लागि आँट गर्ने नेपाल खेलकुद पत्रकार मञ्चलाई बधाई तथा धन्यवाद दिए ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० का विजेतालाई बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलले दुई दशकदेखि राष्ट्रका उत्कृष्ट खेलाडीलाई सम्मान गरेर मञ्चले राम्रो परम्परा स्थापित गरेकोमा धन्यवाद दिएका थिए ।
सोही अवसरमा राष्ट्रपति पौडेललाई एआइपिएस एसियाको तर्फबाट अध्यक्ष ही डोङ जोङले मायाको चिनो प्रदान गरे । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले एआइपिएस एसिया, एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड र सहभागीका बारेमा जानकारी गराएका थिए ।
अवार्डको पुरुषतर्फ क्रिकेटका कप्तान रोहितकुमार पौडेल र महिलामा कराँतेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।