उपसभामुखसँग प्रधानमन्त्रीले भने–तपाईं डिग्निफाइड मेम्बर हो, हटाउने बजारको हल्ला छाडिदिनुस्

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

उपसभामुख इन्दिरा रानालाई हटाउने योजनाबाट तत्कालका लागि प्रधानमन्त्री केपी ओली एक कदम पछाडि हट्ने मनस्थितिमा देखिएका छन् । शुक्रबार संवैधानिक परिषद् बैठकमा उपसभामुख राना र माओवादी अध्यक्ष प्रचण्डले उठाएको प्रश्नमा ओलीले ‘बाहिरी’ कुरा भन्दै त्यसलाई पन्छाएका छन् ।

उपसभामुख इन्दिरा रानाले आफ्नो आचरणमाथि उठाइएको प्रश्नमा संवैधानिक परिषद्मा स्पष्टीकरण दिएकी थिइन् ।

परिषद्को बैठकमा सदस्य रहेकी उपसभामुख रानाले कुनै प्रक्रियामा नगएको पत्रको विषय उचालेर हटाउन खोजिएकोमा असन्तुष्टि जनाएकी थिइन् । भावी प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन बसेको बैठकमा उपसभामुख रानाले अमेरिकी दूतावासलाई भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन १९ महिनाअघि लेखिएको भनिएको पत्रबारे प्रस्टीकरण दिएकी हुन् । ‘खासमा म भर्खर उपसभामुख भएर आएको वेलाको विषय हो । त्यतिखेर प्रक्रिया थाहा पनि थिएन । त्यसमा पनि प्रिडेटको चिठी गएको छैन । न दूतावासमा पुगेको छ, यो कुरा हाम्रो सम्माननीय (सभामुख)ज्यूलाई पनि थाहा छ । मैले त्यो रोकेको हो । अरू केही भएको होइन,’ उनले भनिन्, ‘यतिमै मलाई आक्षेप लाउने हो भने मैले अन्तर्राष्ट्रिय स्तरमा गरेको डेडिकेसन, बालबालिकाका क्षेत्रमा गरेको योगदानदेखि सबैलाई असर गर्छ । यतिमै हटाउने भन्ने कुराले मलाई चित्त दुखेको छ ।’

कार्यान्वयनमै नगएको र कसैलाई असर नगरेको उक्त पत्र गत साउनमा सार्वजनिक भए पनि सत्तारूढ दलहरूले संवैधानिक परिषद्को अंकगणितलाई मध्यनजर गर्दै डेढ महिनापछि आचरणको प्रश्न उठाउँदै संसद्बाट उपसभामुखको राजीनामा मागिरहेका छन् । राजीनामा नदिए पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याएर दुईतिहाइको बलमा हटाउने चेतावनी दिँदै कांग्रेस र एमालेले हस्ताक्षर अभियान नै चलाएका छन् । 

उपसभामुखले प्रस्टीकरण दिएपछि प्रधानमन्त्री एवं परिषद् अध्यक्ष ओलीले तपाईं सम्मानित सदस्य हो, बजारको कुरा छोडिदिनुस् भनेका थिए । ‘होइन यता नजाउँ, तपाईं डिग्निफाइड मेम्बर हो । बाहिरको कुरा बाहिरै राखौँ । बजारको कुरा बजारमै राखौँ । यहाँ ल्याउनुहुन्न,’ ओलीले भने । 

बैठकमा प्रचण्डले ‘अनि सिग्नेचर क्याम्पेन चलिरहेको छ भनेको सुन्दा उहाँलाई अप्ठ्यारो लागेको होला’ भनेका थिए । जवाफमा ओलीले भनेका थिए, ‘अब त्यो कुरा यहीँ छोडिदिउँ ।’ बैठकपछि उपसभामुख रानाले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा दिनेबारे केही नसोचेको बताइन् । 

भावी प्रधानन्यायाधीशमा बनेन सहमति 
बैठकको एजेन्डाका रूपमा रहेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषय छलफल गरेर मात्रै अगाडि बढ्ने सहमति बनेको छ । भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित बनाउने सहमति छ । ‘वरिष्ठताका आधारमा प्रकाशमानसिंह राउत नै हो । तर, अब सिनियारिटी मात्र होइन, राम्रो पफर्मेन्स हेर्नुपर्छ । त्यो ठाउँमा भएको राम्रो मान्छे जानुपर्छ भन्ने हिसाबले छलफल गर्ने भन्ने भयो,’ उपसभामुख रानाले भनिन्, ‘त्रुटिरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको छ ।’ सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी १९ असोजमा पदावधि सकिँदै छ । रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी संघीय संसद्को संसदीय सुनुवाइ समितिमा पठाउनेछ ।
 

सुझावित समाचार