रुसको प्राथमिकतामै किन परेन कुर्स्क फिर्ती ?

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

रुसले रणनीतिक रूपमा न्यून महत्वको क्षेत्र फिर्ता लिन ठूलो स्रोत परिचालन गर्नु अनावश्यक देखिन्छ । बरु कुर्स्क क्षेत्र कब्जा गर्न युक्रेनी सेनाको एक हिस्सा उपभोग हुँदा उसलाई नै फाइदा छ । 

अगस्टको अन्त्यतिर रुसले युक्रेनमाथि भीषण हवाई आक्रमण गर्यो । आक्रमणमा प्रयोग गरिएका सयौँ ड्रोन र मिसाइलले मस्कोको निरन्तरको सैन्य सामथ्र्यको प्रमाण पेस गर्यो । तथापि, यस सैन्य शक्तिका बाबजुद रुसले युक्रेनले कब्जामा लिएको उसको भूमि फिर्ता लिन संघर्ष गरिरहेको छ । आखिर, रुसले उसको भूमिमाथि भइरहेको दोस्रो विश्वयुद्धपछिकै ठुलो अतिक्रमणलाई किन उल्टाउन सकिरहेको छैन ? यसमा उसको जनशक्ति तथा सैन्य गुप्तचर क्षमताभन्दा पनि प्राथमिकताले भूमिका खेलेको पश्चिमी अधिकारी तथा सैन्य विज्ञ बताउँछन् । 

रुसी फौज अहिले दोनबासको पोक्रोभ्स्क सहरको बाहिरी भागसम्म पुगिसकेको छ । युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रमा अवस्थिति पाक्रोभ्स्कलाई युक्रेनी फौजले लजिस्टिक हबका रूपमा प्रयोग गरिरहेको छ । ‘रुसको पछिल्लो अभियानको लक्ष्य कम्तीमा पनि पोक्रोभ्स्कलाई कब्जामा लिने देखिन्छ,’ अस्ट्रियाको प्रमुख सैन्य तालिम एकाडेमीमा फौज विकास कार्यक्रमका अनुगमन गरिरहेका कोलोनेल मार्कस रेइस्नरले भने । रुस आफ्ना फौजलाई पोक्रोभ्स्कबाट अन्यत्र स्थानान्तरण गरेर युक्रेनमा हासिल भइरहेको प्रगतिलाई प्रभावित बनाउने पक्षमा नभएको कर्णेल रेइस्नरले भने । 

तथापि रुसले कुर्स्क क्षेत्रको प्रतिरक्षाका लागि प्रयास नै नगरेको भने होइन । उसले त्यस क्षेत्रवरपर तैनाथ आफ्ना फौजलाई विस्तार परिचालन गर्न सुरु गरेको छ, जसलाई उसले जवाफी कारबाहीमा प्रयोग गर्ने धम्की दिएको छ । ‘युक्रेनी अतिक्रमणले रुसलाई झस्काएको छ । तथापि यो स्थिति लामो समय रहँदैन । उनीहरूले शक्ति एकीकृत गरेर योजनाबद्ध रूपमा जवाफ दिनेछन्,’ अमेरिकी सेनाका जनरल तथा नेटोका शीर्ष सैन्य कमान्डर क्रिस्टोफर जी काभोलीले भने । 

अधिकारी तथा विज्ञहरूका अनुसार युक्रेनी फौजले अगस्ट ६ मा कुर्स्क क्षेत्रमा आकस्मिक आक्रमण गर्दा त्यस भेगमा तैनाथ रुसी फौजसँग प्रतिरोध गर्ने न त संख्या थियो, न त विशेषज्ञता नै । युक्रेनी फौजसँग भिडेका सैनिकसँग पर्याप्त हतियार र अन्य उपकरणसमेत थिएन । पश्चिमी देशले दिएका गुप्तचर जानकारीबाट युक्रेनलाई रुसी फौज कहाँ तैनाथ छन् भन्ने स्पष्ट जानकारी थियो । ती जानकारी प्रयोग गरेर तिनले कम प्रतिरोधमा अधिकतम नियन्त्रण गर्ने अभियान सञ्चालन गर्न सके । 

सुरुमा रुसी प्रतिरोधको नेतृत्व कसको हातमा छ भन्ने नै स्पष्ट भएको थिएन । अहिले आएर त्यो जिम्मेवारी पूर्वी युक्रेनको कमान्ड सम्हालिरहेको रुसी सेनाको जनरल स्टाफसँग नभएर रुसी गुप्तचर निकाय एफएसबीसँग रहेको खुलेको छ । ‘स्पष्ट कमान्डरको अभावमा रुसी फौज प्रतिक्रियात्मक देखियो । उनीहरू अगाडि बढ्न हच्किए । यसले युक्रेनी फौजको विस्तारमा सघाउ पुर्यायो,’ पूर्वी युरोप र पूर्वी सोभियत संघमा सेवा गरेका पूर्वसिआइए शीर्ष अधिकारी राल्फ एफ. गोफले भने । हालसम्म युक्रेनी फौजले कुर्स्क क्षेत्रका एक सय बस्ती र झन्डै ६०० रुसी फौज कब्जामा लिएको युक्रेनका वरिष्ठ सैन्य कमान्डर ओलेक्जान्डर सिर्सकीले भने ।

तर, रुसले अहिले युक्रेनसँग लामो सीमा युद्धको तयारी गरिरहेजस्तो देखिन्छ । मस्को प्रतिक्रिया केही सुस्त भए पनि योजनाबद्ध रहेको प्रतिरक्षा गुप्तचर संस्था जेन्सले भन्यो । रुसले त्यस भेगमा सैन्य हेलिकोप्टर परिचालन गरेको छ र युक्रेनी फौजमाथिको हवाई आक्रमण पनि बढाइरहेको छ । युक्रेनी कमान्डर जनरल सिरस्कीले पनि रुसले त्यस भेगमा झन्डै ३० हजार फौज पठाएको र प्रतिदिन संख्या बढाइरहेको स्विकारे । रुसले अहिले दक्षिण र उत्तर–पूर्वी युक्रेनमा तैनाथ गरिएका रिजर्भ फौजलाई कुर्स्कतर्फ स्थानान्तरण गरिरहेको छ, जुन पोक्रोभ्स्कतर्फको अभियानमा प्रयोग भएको छैन । 

अमेरिकी अधिकारीहरूले युक्रेनी फौजलाई कुर्स्कबाट बाहिर धकेल्न रुसलाई पचास हजार फौज आवश्यक पर्ने आकलन गरेका छन् । रुसी परिचालनपछि कुर्स्क क्षेत्रमा युक्रेनी बढोत्तरीमा ‘देखिने गरी सुस्तता आएको’ कोलोनेल रइस्नरले स्विकारे । रुसले रणनीतिक रूपमा न्यून महत्वको क्षेत्र (कुर्स्क)को वैदेशिक अतिक्रमणविरुद्ध ठुलो स्रोत परिचालन गर्नु बुद्धिमानी नहुने हिसाब गरेजस्तो देखिन्छ । बरु कुर्स्क क्षेत्र कब्जा गर्न युक्रेनी जनस्रोतको एक हिस्सा उपभोग हुँदा उसलाई नै फाइदा छ । खासमा युक्रेनले कुर्स्क क्षेत्रमा आक्रमण गर्दा रुसले ठुलो स्रोत त्यस भेगमा पुनः परिचालन गर्ला भन्ने आशा गरेको थियो, तर रुस युक्रेनी खेलमा फसेन । 

त्यसबाहेक मुख्य युद्ध क्षेत्रबाट २५ माइल टाढा कुर्स्क आणविक ऊर्जा संयन्त्र छ, जसको सुरक्षा संरचना कमजोर छ । तथापि क्रेमलिनले उसको भूमिभित्र पस्ने अतिक्रमणकारीले गम्भीर परिणाम भोग्ने चेतावनी दिँदै आएको छ । 

द न्युयोर्क टाइम्सका लागि लारा जेक्स र एरिक स्मितको रिपोर्ट 

See More On

सुझावित समाचार