रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उलानबटारमा आफ्ना मंगोलियन समकक्षीसँग भेटवार्ता गरेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिनविरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उनको यो पहिलो भ्रमण हो । यस भ्रमणलाई आइसिसी, किभ, पश्चिमी राष्ट्रको आह्वानविरुद्ध अवज्ञाको रूपमा हेरिएको छ । पुटिन उलानबटार पुग्दा उनलाई सम्मान गार्डले स्वागत गरिएको थियो । त्यसपछि उनले मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गरे ।
सन् २०२२ मा रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि युक्रेनबाट त्यहाँका बालबालिकालाई अवैध रूपमा अपहरण गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ । अधिकारीहरूले उनलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको ‘युद्ध अपराध’का लागि मंगोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ । किभले भ्रमणअघिदेखि नै पुटिनलाई गिरफ्तारी गर्न मंगोलियासँग आग्रह गरेको थियो ।
आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने ‘दायित्व’ सम्पूर्ण रूपमा सदस्य राष्ट्रहरूको काँधमा रहेको बताएको थियो । विशाल रुस र चीनबिच अवस्थित मंगोलियाको मस्कोसँग घनिष्ठ तथा सांस्कृतिक सम्बन्ध छ भने अर्को छिमेकी चीनसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध छ । शीतयुद्धको समयमा यो मुलुक सोभियत संघको सुरक्षा छातामा थियो ।
सन् १९९१ मा सोभियत संघको पतन भएदेखि मंगोलियाले आफ्ना दुवै विशाल छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने प्रयास गरिरहेको छ । देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन, साथै संयुक्त राष्ट्र संघमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो । गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता आफूहरूलाई नभएको जनाएको थियो ।