सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

उरुग्वेका सर्वाधिक गोलकर्ता लुइस सुआरेजले आगामी शनिबार पाराग्वेविरुद्धको विश्वकप छनोट खेल नै राष्ट्रिय टोलीबाट अन्तिम हुने घोषणा गरे

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । विश्वकप दक्षिण अमेरिकी छनोटमा आगामी शनिबार पाराग्वेविरुद्धको खेल नै अन्तिम भएको सुआरेजले घोषणा गरेका छन् । उरुग्वेका फुटबलरमध्ये व्यावसायिक क्षेत्रमा सर्वाधिक सफल सुआरेजले इंग्लिस प्रिमियर र स्पेनिस लिग खेलेका थिए । लिभरपुलबाट बार्सिलोनामा आबद्ध हुँदा उनले लियोनल मेसीसँगै नेमार जुनियरसँग सहकार्य गर्न अवसर पाएका थिए । सुआरेज, मेसी तथा नेमार रहेको बार्सिलोना त्यसवेला उत्कृष्ट फिनिसिङ युरोपियन क्लबका रूपमा रहेको थियो । 

उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले एक सय ४२ खेलमा ६९ गोल गरेका छन् । उनले सन् २००७ को फेब्रुअरीमा कोलम्बियाविरूद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । मंगलबार सन्न्यास घोषणा गरेको क्षणमा उनी खुसी नै देखिन्थे । ‘राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल खेल्दै आराम गर्न चाहन्छु । पाराग्वेसँगको खेल नै उरुग्वेबाट मेरो जीवकै अन्तिम खेल हुनेछ,’ सुआरेजले भने, ‘सन्न्यास लिने क्षणका लागि उत्साहित छु । सन् २००७ मा पहिलोपटक मेरो राष्ट्रिय टोलीबाट खेल्दै थिएँ ।’

उनले १७ वर्षअघिको युवा अहिले अनुभवी खेलाडी बनेको स्पष्ट पारेका छन् । ‘त्यसवेलाको १९ वर्षीय केटा अहिले एक अनुभवी र एक पुरानो खेलाडी बनेका छन्,’ उनले भने । सुआरेजले उरुग्वेबाट नौवटा प्रम्ुख अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । सन् २०१० को विश्वकपको क्वार्टरफाइनलको इन्जुरी समयमा घानालाई सेमिफाइनलमा पुग्नबाट रोक्न उनले गोल लाइनमा ह्यान्ड गरेका थिए । उनले रातो कार्ड पाएका थिए । 

कोपा अमेरिका विजेता
राष्ट्रिय टोलीबाट सुआरेज अमेरिकाका प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका जितेका छन् । सन् २०११ मा अर्जेन्टिनामा भएको कोपा अमेरिकामा उरुग्वेले उपाधि उचाल्दा उनले चार गोल गरेका थिए । 

त्यस प्रतियोगितामा उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए । २०१४ को विश्वकपमा उनले उरूग्वेलाई समूह चरणमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । समूहको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोक्दा उनी विवादित बने । त्यसपछि फिफाले उनलाई नौ खेलको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण उनले २०१५ कोपा अमेरिका गुमाएका थिए । उनले २०१८ र २०२२ को विश्वकप पनि खेलेका थिए । उनले कोपा अमेरिकाको पाँच संस्करणमा सहभागिता जनाए ।

See More On

सुझावित समाचार