सरकारका प्रवक्ता गुरुङलाई प्रधानमन्त्रीले गराए सचेत

प्रधानमन्त्रीले सचेत गराउनुभो, मैले कमजोरी महसुस गरेँ

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण
सरकारका प्रवक्ता गुरुङलाई प्रधानमन्त्रीले गराए सचेत

सोमबार रासस नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङ

सार्वजनिक कार्यक्रममै आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ शब्द प्रयोग गरेर विवादमा तानिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी ओली सचेत गराएका छन् । प्रवक्ता गुरुङलाई सोमबार सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदिन सचेत गराएका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले संविधान र संघीय शासनविरुद्ध हुने गरी प्रहरी समायोजनका विषयमा बोलेको भन्दै मन्त्री गुरुङले अस्वाभाविक टिप्पणी गरेका थिए । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ शब्द प्रयोग गरेका थिए । 

राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफूले पनि महसुस गरेर सचेत हुने जवाफ दिएको बताए ।

‘संविधान र संघीय शासनविरुद्ध गएर वर्तमान प्रहरी प्रमुखले नै राष्ट्रिय सुरक्षा जोडिएका कारण प्रहरी समायोजन गर्न सकिँदैन भनेको जानकारी मैले सहभागीहरूबाटै पाएँ । प्रहरी प्रमुखले त त्यस्तो बोल्न नहुने हो, त्यसरी बोलेबापत त्यहीवेला जिब्रो थुत्नुपर्थ्यो भन्ने सन्दर्भवश शब्द प्रयोग भएको हो । त्यही शब्दले अहिले तरंग पैदा गरेको हो,’ प्रधानमन्त्रीलाई गराएको ब्रिफिङ र जवाफ उद्धृत गर्दै गुरुङले भने, ‘सुनिसकेपछि प्रधानमन्त्रीले भन्नुभो, ‘सरकारको प्रवक्ता पनि हुनुहुन्छ, प्रश्नको जवाफ दिने क्रममा विवादमा आउने शब्द र भाषा प्रयोगमा सचेत हुनुपर्छ । लामो बोल्ने बानी छ, छोटो बोल्ने बानी गर्नुस् । मैले प्रधानमन्त्रीसँग ठिक छ, मैले महसुस गरेँ, सचेत हुन्छु भनेको छु । प्रधानमन्त्रीले नै भनिसकेपछि मैले महसुस गरेँ ।’

गुरुङले प्रधानमन्त्री ओलीसँग मन्त्रालयको ब्रिफिङलगायत विविध विषयमा कुरा हुने क्रममा आफ्नो पछिल्ला अभिव्यक्तिबारे छलफल भएको बताए । 
 

सुझावित समाचार