एन्फा महासचिवको तलब दुई लाख ६८ हजार, खेलाडीलाई ३० हजार मात्रै

देशका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय मैदानमा भिड्ने खेलाडी राज्यबाट मात्रै होइन, सम्बन्धित खेल संस्थाबाट पनि चरम उपेक्षामा

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईको तलब एक लाख २० हजारबाट एकैपटक २ लाख ६८ हजार रुपैयाँ (दुई हजार अमेरिकी डलर) पुर्‍याएको छ । तर, देशको प्रतिष्ठाका लागि मैदानमा भिड्ने राष्ट्रिय टोलीका खेलाडीको तलब ३० हजार मात्रै तोकेको छ । यसअघि त उनीहरूको तलब १८ हजार मात्रै थियो । 

मंगलबार र बिहीबार गरी दुई दिन बसेको बोर्ड बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङले महासचिवको तलब शतप्रतिशतभन्दा धेरै बढाउने प्रस्ताव गरेका थिए । २१ सदस्यीय कार्यसमिति बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्षसहित नौ पदाधिकारीले विरोध जनाएपनि बहुमतबाट निर्णय लिइएको छ । वरिष्ठ उपाध्यक्ष खड्काले त बहुमत नपुगेकै अवस्थामा अध्यक्षले पेलेर निर्णय गरेको दाबी गरे । 

असन्तुष्ट पक्षले वर्तमान अवस्थामा खेलाडी पलायन भएको, घरेलु प्रतियोगिता नभएको स्थितिमा महासचिवको मात्रै तलब बढाउँदा नराम्रो ‘म्यासेज’ जाने भन्दै तलब बढाउने निर्णय नलिन संस्थापन पक्षलाई अनुरोध गरेको थियो । तर, अध्यक्ष नेम्वाङले आफूहरूको कुरा सुनुवाइ नगरी निर्णय लिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताए । 

‘अहिले फुटबल प्रशासन खराब स्थितिमा छ । लिग नभएको धेरै भइसक्यो । महासचिवकै कारण फुटबल भद्रगोल भइरहँदा उहाँकै तलब बढाउनुहुन्न भन्ने माग गर्‍यौँ, तर अध्यक्षले बहुमतको निर्णय भन्दै पारित गर्नुभयो । दुई हप्तापछि अन्तिम निर्णय आएसँगै यसमा हाम्रो ‘नोट अफ डिसेन्ट’ रहन्छ,’ वरिष्ठ उपाध्यक्ष खड्काले नयाँ पत्रिकासँग भने । 

एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीले तलब र अन्य सुविधासहित मासिक एक लाख १० हजार बुझ्छन् । त्यस्तै, तीन सहमहासचिव (दामोदार भट्टराई, अरुणमान जोशी र विजय घले)ले मासिक जनही ७५ हजार तलब पाउँछन् । सबैजसो पदाधिकारीले मासिक ५० हजार पेट्रोल खर्च सुविधा लिनछन् । त्यस्तै, एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरको मासिक तलब एक लाख पाँच हजार रुपैयाँ छ । 

पंकजविक्रम नेम्वाङ ६ असार ०७९ मा अध्यक्षमा निर्वाचित भएपछि पहिलो बैठकबाटै राईलाई महासचिव नियुक्त गरिएको थियो । त्यसपछि उनी कहिल्यै पनि एन्फाको राजनीतिमा विवादमुक्त हुन सकेका छैनन् । त्यस्तै, २ पुस ०८० मा प्यानल परिवर्तन गर्दै तुलाधर सिइओ नियुक्त भएका थिए । 

खेलाडीलाई मासिक १८ हजार तलब दिँदै आएको एन्फाले बिहीबार सम्पन्न कार्यसमिति बैठकपछि १२ हजार थप गरेर ३० हजार बनाएको छ । राष्ट्रिय टिम घोषणा हुँदा टिममा परेका २३/२३ खेलाडीले यो तलब पाउँछन् । पछिल्लो चारवर्षे कार्यकाल एन्फाको नेतृत्व सम्हालेका कर्माछिरिङ शेर्पाले महिला–पुरुष खेलाडीले समान तलब पाउने निर्णय गरेका थिए । त्यसैगरी, १२ जना फिफा रेफ्रीलाई एन्फाले जनही २० हजारका दरले तलब दिने गरेको छ । यो सबै तलब फिफाले एन्फालाई अनुदानमा उपलब्ध गराउँछ । गणेश थापाको कार्यकालदेखि नै एन्फाले फुटबलरलाई तलब दिन थालेको हो, त्यतिवेला खेलाडीलाई तलब दिने एन्फा एक मात्र संघ थियो । 

एन्फाका  वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफुहरूको माग अध्यक्षले सुन्दै नसुनेको बताए । ‘अहिले एन्फाको प्रशासन नाजुक अवस्थामा रहेको र महासचिवकै कारण फुटबल भद्रगोल भएको, हुनुपर्ने लिग साइकल पूरा नभएको, अत्यधिक खेलाडी विदेश पलायन भएको अवस्थामा महासचिवको तलब नबढाउन माग राख्यौँ । तर, अध्यक्षले आफैँले प्रस्ताव गरेको एजेन्डालाई बहुमत भन्दै आफैँले निर्णय गर्नुभयो । हाम्रो कुरा सुन्दै सुनिएन’, उनले भने, ‘२१ सदस्यमध्ये दुई सदस्यले मात्रै हात उठाउनुभएको थियो । तर, अध्यक्षले मौन सहमति भन्दै बहुमत देखाउनुभयो । बरु खेलाडीको तलब ५० हजार पुर्‍याऔँ, राम्रो म्यासेज जान्छ भन्दा उहाँले मान्नुभएन । बल्ल–बल्ल धेरै विरोधबीच १२ हजार बढाएर ३० हजार पुर्‍याइयो ।’ 

पछिल्लो निर्णयबारे एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले कुनै प्रतिक्रिया दिन मानेनन् । प्रवक्ता सुरेश शाहले दुई दिनको बैठकमा फुटबल विकासका लागि ठुला–ठुला योजना आए पनि महासचिवकै तलबको विषय मुद्दा बनाइनु दुःखद रहेको बताए । प्रवक्ता शाहले तलब राईलाई नदिएर महासचिव पदका लागि भएको र बजेट फिफाले दिने गरेको बताए । ‘दुई दिनको बैठकले नेपाली फुटबलको नयाँ अध्याय सुरु गरेको छ । ग्रासरुटदेखि स्कुल, महिला लिग, राष्ट्रिय स्तरसम्मका प्रतियोगिता गर्ने निर्णय भएका छन् । देशभर पूर्वाधार बनाउन केन्द्रित भएका छौँ । दूरगामी प्रभाव पक्कै आउँछ । तर, महासचिवको विषय मात्रै प्राथमिकतामा राखियो,’ उनले भने, ‘भ्रम भएको हुन सक्छ यहाँ । महासचिवको तलब एन्फाबाट दिने होइन, फिफाले दिने गर्छ । यो रकम व्यक्तिगत होइन । एन्फाको महासचिव पदको हो । भोलि जोसुकै व्यक्ति भए पनि पाउने तलब यही हो ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीको सुविधा बढाउन निजी तथा सरकारी संघसंस्थासँग समन्वय गरिरहेको बताए । ‘विभिन्न पदक जित्दै देशको सान उँचो बनाउने खेलाडीले तलब नपाएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । त्यसका लागि योजना बनाएका छौँ । म मन्त्रालय आएदेखि नै खेलाडीलाई कसरी तलब दिन सकिन्छ भन्नेमा छु । खेलकुद संघहरूलाई प्रायोजक खोज्न सजिलो हुने गरी नीति बनाउने र खेलाडीलाई तलब उपलब्ध गराउने प्रयासमा छौँ, चाँड सफल हुन्छौँ’, उनले भने । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सबै संघले खेलाडीलाई तलब दिनुपर्ने बताए । ‘फुटबल र क्रिकेटमा अन्तर्राष्ट्रिय अनुदान आउँछ । भलिबल र बुद्धिचालले सानो सहयोग गरे । पछिल्लो समय खेलकुदमा प्रायोजक आउन थालेको छ । क्रिकेटमा धेरै प्रतियोगिता छन् । आयस्रोत छन् । पदक जिताउने र देशको इज्जत बढाउने तेक्वान्दो र कराँतेका खेलाडीले तलब पाएका छैनन्’, उनले भने, ‘ अहिले सबैभन्दा बढी पलायन भएका खेलाडी नै तेक्वान्दो र कराँतेका छन् । यी संघले पनि खेलाडीलाई मासिक भत्ता दिनुपर्छ । उनीहरू मात्रै होइन, सबै संघले खेलाडीलाई तलब दिने वातावरण हुनुपर्छ । अनि मात्रै खेलाडीको मनोबल उच्च हुन्छ ।’ 

कराँते महासंघका अध्यक्ष युवराज लामाले आन्तरिक स्रोत नुहँदा समस्या भैरहेको बताए । ‘क्रिकेट, फुटबलबाहेक अन्य संघसँग आन्तरिक स्रोत पनि छैन । यी संघलाई अन्तर्राष्ट्रिय महासंघबाट ठूलो अनुदान आउने गर्छ र सहजै तलब दिएका छन् । कराँतेको कुरा गर्ने हो भने उल्टै विश्व र एसियाली महासंघलाई वार्षिक बुझाउनुपर्छ । हामीले पनि कम्तीमा पदक विजेतालाई मासिक तलब दिनुपर्छ भनेर योजना बनाएका छौँ’, उनले भने, ‘तर, मन भएर मात्र नहुने रहेछ । पहिला–पहिला सहयोग गर्ने कर्पाेरेटहरू पनि थिए । तर, पछिल्लो समय प्रायोजकहरूको रुचि पनि घट्दो छ । यद्यपि, हामी मेडल जिताउने र देशको सान बढाउनेलाई विभिन्न कम्पनीको ब्रान्ड एम्बेस्डर बनाउँदै जीविकोपार्जन गर्न सहज बनाउने योजनामा छौँ ।’ 

क्यान महाप्रबन्धकको तलब एक लाख ९० हजार तर, क्रिकेटरले पाउँछन् धेरैमा एक लाख
नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीलाई मासिक तलब दिने निर्णयसहित उनीहरूको वर्गीकरण गरेको छ । क्यानले सन् २०२४ का लागि पुरुष क्रिकेट र महिला क्रिकेट खेलाडीको तलब बढाएको छ । १४ फागुनमा सम्पन्न क्यान बैठकले ए, बी, सी र डी श्रेणीमा विभाजन गरेर तलब दिने निर्णय गरेको छ । तर, महिला तथा पुरुष खेलाडीको तलब समान छैन । क्यानको पुरुषतर्फको वर्गीकरणमा ३० खेलाडी छन् । त्यस्तै, महिलातर्फ १९ खेलाडी छन् । 

पुरुष ए श्रेणीका ६ खेलाडीले मासिक एक लाख पाउँदा ए श्रेणीकै महिला खेलाडीले आधा अर्थात् ५० हजार पाउँछन् । पुरुष बी श्रेणीकाले ७० हजार पाउँदा महिलाको ३५ हजार मात्र छ । पुरुष सी श्रेणीले ५५ हजार पाउँदा महिलाको ३० हजार, पुरुष डी श्रेणीले ३५ पाउँदा महिलाले २५ हजार पाउँछन् । 

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार तीन कर्मचारीले मासिक एक लाखभन्दा धेरै तलब लिइरहेका छन् । महाप्रबन्धक उत्सव ढुंगानाले एक लाख ९० हजार तलब बुझ्छन् । क्रिकेट म्यानेजर विनोद दासको मासिक तलब एक लाख ६५ हजार छ भने चिफ अफ फाइनान्स अफिसर रमेश न्यौपानेले एक लाख ५० हजार पाउँदै आएका छन् । 

ओलम्पियन र पदक विजेतालाई राखेपको भत्ता 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालबाट ओलम्पिकमा सहभागी भएका र विभिन्न प्रतियोगितामा नेपाललाई पदक जिताएका खेलाडीलाई मासिक रूपमा प्रोत्साहन भत्ता दिने गरेको छ । राखेपले हाल ६० ओलम्पियनलाई चार हजारका दरले तलब दिने गरेको छ । साथै, दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता र एसियन गेम्समा पदकधारी खेलाडीलाई ६ हजारका दरले पुरस्कृत गर्ने गरेको छ । 

एन्फामा सहमहासचिव र कोषाध्यक्षलाई पनि लाखहाराहारी तलब, पदाधिकारीलाई मासिक ५० लिटर पेट्रोल सुविधा 
एन्फाको बिहीबारको निर्णयपछि महासचिवको तलब १ लाख २० हजारबाट २ लाख ६८ हजार रुपैयाँ पुर्‍याइएको छ । कोषाध्यक्षले सुविधासहित मासिक १ लाख १० हजार बुझ्छन् । त्यस्तै, तीनजना सहमहासचिवले मासिक जनही ७५ हजार तलब पाउँछन् । यसबाहेक हरेक पदाधिकारीले मासिक ५० लिटर पेट्रोल सुविधा बुझ्ने गरेको एन्फाले जनाएको छ । एन्फाका सिइओको मासिक तलब १ लाख ५ हजार छ ।

खेलाडीको तलब ५० हजार पुर्‍याऔँ भन्दा अध्यक्षले मान्नुभएन : वीरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष, एन्फा 
एन्फा बैठकमा अहिले प्रशासनिक अवस्था नाजुक रहेको र नेतृत्वकै कारण फुटबल भद्रगोल भएको, हुनुपर्ने लिग साइकल पनि पूरा नभएको, अत्यधिक खेलाडी विदेश पलायन भएको अवस्थामा महासचिवको तलब नबढाउन माग राख्यौँ । तर, अध्यक्षले प्रस्ताव गरेको एजेन्डालाई बहुमत भन्दै आफैँले निर्णय पारित गर्नुभयो । बहुमतको कुरा सुन्दै सुनिएन । २१ सदस्यमध्ये दुई सदस्यले मात्रै हात उठाउनुभएको थियो । तर, अध्यक्षले मौन सहमति भन्दै निर्णय गर्नुभयो । बरु खेलाडीको तलब ५० हजार पुर्‍याऔँ, राम्रो म्यासेज जान्छ भन्दा उहाँले मान्नुभएन । बल्ल–बल्ल धेरै विरोधबीच १२ हजार बढाएर ३० हजार पुर्‍याइयो । 

सबै खेलका खेलाडीलाई तलबको व्यवस्था गरिनुपर्छ  : दीपक श्रेष्ठ, अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ 
फुटबल र क्रिकेटमा अन्तर्राष्ट्रिय अनुदान आउँछ । भलिबल र बुद्धिचालले खेलाडीलाई सानो सहयोग गरे । पछिल्लो समय खेलकुदमा प्रायोजक आउन थालेको छ । क्रिकेटमा धेरै प्रतियोगिता छन् । आयस्रोत छ । पदक जिताउने र देशको इज्जत बढाउने तेक्वान्दो र कराँतेका खेलाडीले तलब पाएका छैनन् । अहिले सबैभन्दा बढी पलायन भएका खेलाडी नै तेक्वान्दो र कराँतेका छन् । यी संघले पनि खेलाडीलाई मासिक भत्ता दिनुपर्छ । उनीहरू मात्रै होइन, सबै संघले खेलाडीलाई तलब दिने वातावरण हुनुपर्छ । अनि मात्रै खेलाडीको मनोबल उच्च हुन्छ । 

See More On

सुझावित समाचार